
काठमाडौं, असार २४ । पार्टीको महाधिवेशन र पार्टी विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालभित्र विवाद बढेको छ ।
विवादकै कारण पार्टी विधान, महाधिवेशनको स्थान र संसदीय दलको विधान पारित गर्ने एजेण्डासहित ३ दिनसम्म बसेको राजनीतिक समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
पार्टीको विधान र महाधिवेशनको स्थान तोक्ने विषयमा विवाद भएपछि विवाद समाधान गर्न अध्यक्ष मण्डललाई जिम्मेवारी दिइएको छ । पार्टीका महासचिव केशवकुमार झाले पार्टीको विधान, संसदीय दलको विधान, महाधिवेशनको स्थान तोक्ने लगायत टुङ्गो लाग्न बाँकी विषयबारे एक साताभित्रै टुङ्गो लाग्ने जानकारी दिए ।
राजनीतिक समितिको बैठकले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडितलाई तत्काल राहतको व्यवस्था र अनसनरत डा.गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्