
काठमाडौं, कात्तिक १८ । काठमाडौं महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरेको छ ।
विहीबार साँझ राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा महानगरपालिकाले अभिनन्दन गरेको हो ।
सो अवसरमा महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले मुखर्जीलाई महानगरको साँचो हस्तान्तरण गर्नुका साथै अभिनन्दनपत्रले सम्मान गरे ।
यस्तै, अनुपम काष्ठकला झल्कने झ्याल र मञ्जुश्रीको मूर्ति पनि प्रदान गरियो ।
अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपति मुखर्जीले ऐतिहासिक र पवित्र सहर काठमाडौंको भ्रमण गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए ।
नेपाल भ्रमणका क्रममा नेपाली जनता र नेपाल सरकारले देखाएको सम्मान र सदासयताप्रति आभार व्यक्त गर्दै उनले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरे ।
काठमाडौं राजनीतिक केन्द्रमात्रै नभइ एउटा आध्यामिक सहरसमेत रहेको उनको धारणा थियो ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायत पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्