२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


मुखर्जीको भ्रमणः पोखरामा बिहान १० बजेपछिका सबै उडान रद्द, वैकल्पिक बाटो रोज्नोस् !


0
Shares

पोखरा, कात्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरामा हुने भ्रमणको तयारी पूरा भएको छ ।

राष्ट्रपति मुखर्जी शुक्रबार पोखरा आउने कार्यक्रम रहेको छ । उनको स्वागतार्थ पोखरालाई विशेष किसिमले सजाइएको पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले बताए ।

राष्ट्रपति मुखर्जीको स्वागतार्थ पोखरा विमानस्थलदेखि पोखराको विरौटास्थित ग्रान्ड होटल र विमानस्थलबाट भारतीय पेन्सन क्याम्पलगायतका स्थानमा विभिन्न स्वागतद्वार बनाइएको छ भने आसपासको क्षेत्र दुलहीझैं सिँगारिएको छ ।

भ्रमणलाई लक्षित गरी गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत् व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचार–प्रसार समितिले आ–आफ्नो जिम्मेवारीअनुसार सम्पूर्ण काम गरेको क्षेत्रीय प्रशासक बरालले बताए ।

उनका अनुसार, भारतीय राष्ट्रपतिको भ्रमणलाई ध्यानमा राखेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।

राष्ट्रपति मुखर्जीको पोखरा भ्रमण सन्दर्भमा सवारीमार्गमा सुरक्षा अभ्यास पनि सम्पन्न भएको छ ।

पोखरा विमानस्थलबाट राष्ट्रपति मुखर्जी आराम गर्न जाने विरौटास्थित ग्रान्ड होटेलसम्मका बाटोमा स्वागतद्वार निर्माण र बाटोको दाँया–बाँया रहेका बिजुलीपोलमा दुबै देशका राष्ट्रिय झगडाले सजाइएको छ भने सडकलाई सफासुग्घर र चिटिक्क बनाइएको छ ।

राष्ट्रपति मुखर्जीलाई पानीका घडा राखेर विभिन्न टोल तथा सामुदायका व्यक्तिले स्वागत् गर्ने कार्यक्रम पनि रहेको स्वागत् व्यवस्थापन उपसमितिका संयोजक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

भारतीय राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी शुक्रबार पोखरा विमानस्थलबाट हुने बिहान १०.०० बजेपछिका सबै उडान रद्द गरिएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

पोखरा विमानस्थलबाट १०.०० बजेपछि हुने अल्ट्रालाइट उडानका साथै सराङकोटबाट हुने पाराग्लाइडिङ शुक्रबार पूर्णरुपमा बन्द हुने भएको पौडेलले बताए ।

भ्रमणको समयमा वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह
यसैगरी, भारतीय राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणकाबेला यहाँका केही स्थानका सवारी प्रयोगकर्तालाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित सबैसँग आग्रह गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले विहीबार साँझ विज्ञप्ति प्रकाशित गरी उक्त समयमा सवारी आवागमनमा केही समय बाधा पुग्ने हुँदा त्यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

राष्ट्रपति मुखर्जीको भ्रमण हुने विरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक, चाइनापुल र बुद्धचोक आसपासका सडकको सट्टा पूर्वतर्पmबाट आइ पर्वततर्पm जाने सवारी–साधनहरुले अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, सिद्धार्थचोक हुँदै भूमि शेरचन राजमार्ग प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

यस्तै, पूर्वतर्पmबाट आइ स्याङ्जा जाने सवारी–साधनहरु अमरसिंहचोकबाट रानीपौवा हुँदै महेन्द्रपुल, न्यूरोड, सभागृहचोक, सिर्जनाचोक, राष्ट्रबैंकचोक, विरौटाचोक हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । रासस