२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


छठ पर्व सुरु, यस्तो छ छठको महिमा (भिडियो)


0
Shares

अनिल तिवारी
वीरगंज, कात्तिक १९ । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता रहेको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा नदी तथा तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । छठ पूजा गर्नाले पुत्रप्राप्ति र छालारोग निको हुनेगरेको मान्यता समेत छ ।

महाभारतका अनुसार द्रौपतिसहित पाण्डवहरुले अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको धार्मिक कथन छ । पुत्रप्राप्तिका लागि स्वाम्भुव मनुका छोरा प्रियव्रत राजाले यो पर्व गरेपछि सुरुवात भएको धार्मिक किम्दन्ती समेत रहेको पन्डित अखिलेश तिवारी बताउँछन् ।

कात्तिक महिना शुक्लपक्ष चौठ तिथिबाट पर्व, पूजाको प्रारम्भ भइ सप्तमीको दिन समापन हुने पराम्परा रहेको छ । पहिलो दिन विधिपूर्वक ब्रतालुहरु नुहाएर पवित्रभई शुद्ध सात्विक भोजन गर्दछन् । बिहीबारदेखि सुरु हुने भए पनि तिथिको त्रुटि तथा बृद्धि कारण यस बर्षको पर्व शुक्रबारदेखि सुरु भएको पडित पुरुषोत्तम दुबेको भनाइ छ ।

पर्वको तेस्रो तथा मुख्य षष्ठीको दिन निराहार र निर्जला बसेका ब्रतालुहरू साँझपख जलासय वा नदीको किनारमा छठी माताको पूजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्छन् । अन्तिम दिन पुनः जलाशयमा गई उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ्य दिई छठ सम्पन्न गरिन्छ ।

मुख्यतः जनकपुरका गंगा सागर, अरगजा सागर, धनुष सागर, रुकमिणी सागर, दशरथ तलाउ सहितका दर्जनौं पोखरीहरुलाई सजाइएको छ । त्यस्तै जलेश्वरको रातु नदी, बरुण र परशुराम सरोवारमा पनि सरसफाई गरिएको छ । बीरगञ्जको घडीअरुवा, नगवा, छपकैया र पिपराको पोखरी, श्रीसिया नदीको रानीघाट लगायत तराइका सबै नदी, पोखरी तथा जलासय सरसफाई गरि दुलही जस्तै सिँगारिएको छ ।

छठपर्व धुमधामको साथ मनाउन बीरगन्जको घडीअर्वा पोखरी छठपर्व व्यवस्थापन समितिले १२ लाख रुपैयाँ खर्च हुने अनुमानित बजेटको व्यवस्था गरेको पूजा व्यवस्थापन समितिका सचिव प्रभाकर गुप्ताले बताए ।

छठ पर्वलाई सुरक्षित र व्यवस्थित मनाउन एक हप्तादेखि तराइको सुरक्षामा बिशेष व्यवस्था हुने गरेको छ । पर्वको समयमा विभिन्न सजगताहरु अपनाइएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

छठ पर्व मनाउनुको पछाडी धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्यहरु पनि त्यतिकै छन् । महिलाप्रधान पर्वमा उनीहरूको पूजा सामग्री भरिएको छैँटा पुरुषहरुले गर्वसाथ टाउकोमा बोकेर छठघाटमा पुर्‍याउने परम्परागत चलन रहेकोले यसलाई लैंगिक समानताको पर्वको रुपमा पनि लिने गरिएको छ ।