बर्दिया, चैत १६ । बर्दियाका कृषक चैतेधानखेतीतर्फ आकर्षित भएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपर जोन कार्यक्रम लागू भएपछि कृषकहरु चैतेधानखेतीमा आकर्षित भएका हुन् ।
यसअघि बाँझै रहने खेतमा कृषकहरु अहिले धमाधम चैतेधान रोपिरहेका छन् ।
परियोजनाले कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
जमिनको तयारीदेखि भन्डारणसम्मको कामका लागि आवश्यक उपकरण खरिद गर्न ५० प्रतिशत अनुदान रकम परियोजनाले दिने गरेको धान सुपर जोन कार्यक्रम राजापुरका प्रमुख वीरेन्द्रराज पराजुलीले जानकारी दिए ।
बीउदेखि खेत जोत्ने पावर ट्रेलरमा अनुदान पाएपछि कृषकहरु पनि उत्साहित देखिन्छन् ।
एकै वर्ष तीन बाली लगाउन पाउँदा आर्थिकरुपले पनि आफूहरुलाई फाइदा पुगेको कृषकहरु बताउँछन् ।
धान सुपर जोन कार्यक्रम सन्चालन हुनुभन्दापहिले बर्दियामा २३ हेक्टरमामात्रै चैतेधान लगाउने गरिएको थियो ।
यस वर्ष ५०० हेक्टरमा चैतेधान रोपिएको परियोजनाले जनाएको छ ।
बर्दियाका अधिकांश क्षेत्रमा सिँचाइको सुविधा उपलब्ध भएकाले पनि चैतेधानखेती गर्न कृषकहरुलाई सहज भएको छ ।









प्रतिक्रिया दिनुहोस्