काठमाडौं, चैत १५ । राजधानीमा भएको लगानी सम्मेलनमा ४० देशका ६०० जनाभन्दा बढी लगानीकर्ताले सहभागिता जनाएका छन् ।
लगानी बोर्डले ‘प्रि फिजिबिलिटी’ अध्ययन गरी सार्वजनिक गरेका ७७ ओटा परियोजनालाई ‘सो केस’कारुपमा राखेको दुईदिने सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले नेपालमा लगानीको वातावरण, सरकारले लगानीकर्तालाई हेर्ने दृष्टिकोण, कानुनी व्यवस्थालगायतको विषयमा बुझ्न आएको बताएका छन्
६४ करोडदेखि तीन खर्ब ५० अर्ब रुपैयाँसम्मका परियोजना प्रस्तुत् गरिएका सम्मेलनलाई ध्यानमा राखेर सरकारले हालै ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’समेत संशोधन गरिसकेको छ ।
मुलुकको समृद्धिको प्रमुख आधारकारुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी ८ ठूला परियोजना पनि छनोट गरिएको छ ।
नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोसी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाकारुपमा राखिएको छ ।
सरकारले अध्ययन गरिरहेका पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं–पोखरा रेलमार्ग, काठमाडौं मेट्रोरेलदेखि लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय प्रसूति अस्पतालसम्मका परियोजना ‘सो केस’कारुपमा सम्मेलनमा प्रस्तुत् गरेको छ ।
बोर्डले हाल निर्माणाधीन अवस्थामा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पछिल्लो अवस्थाबारे पनि सम्मेलनमा जानकारी गराएको छ ।
यसपटकको सम्मेलनमा परियोजनाको विविधता हुनुका साथै यीबारेमा यथार्थ अवस्थासमेत अवगत गराउने व्यवस्था गरिएकाले विगतका सम्मेलनभन्दा फरक रहेको दाबीसहित आशातित वैदेशिक लगानी भित्रने सरकारको विश्वास छ ।









प्रतिक्रिया दिनुहोस्