काठमाडौं, चैत १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लगानीयोग्य राष्ट्र बनेको बताएका छन् ।
लगानी सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले राजनीतिकरुपमा सहज वातावरण बनेको, तीन तहका सरकारसमेत गठन भएको उल्लेख गर्दै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचनासमेत नयाँ बनाइएकाले पनि नेपाल लगानीयोग्य राष्ट्र बनेको बताए हुन् ।
विदेशी लगानीकर्ताले जुन क्षेत्रमा लगानी गर्न चाहन्छन्, सोही क्षेत्र उपलब्ध गराउन सरकार तयार उनले बताए ।
नेपाल स्वच्छ ऊर्जाको ‘पावरहाउस’ : डा. महत
पूर्वअर्थमन्त्री डा. रामशरण महतले आर्थिक विकासका लागि यतिखेर नै महत्वपूर्ण अवसर भएको भन्दै स्वदेशी लगानीलेमात्रै धेरै क्षेत्रमा प्रगति गर्न नसकिएकाले विदेशी लगानी आवश्यक भएको बताए ।
नेपालमा कडा परिश्रम गर्नसक्ने जनशक्ति रहेको र अन्तर्राष्ट्रिय क्षेत्रमासमेत नेपालीले ख्याती कमाएको भन्दै उनले नेपाल स्वच्छ ऊर्जाको ‘पावरहाउस’ रहेको बताए ।
‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्पलाई पूरा गर्नेगरी लगानी गर्न विश्व बैंक तयार
विश्व बैंकका उपाध्यक्ष हार्टबीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्पलाई पूरा गर्नेगरी लगानी गर्न विश्व बैंक तयार रहेको बताए ।
पछिल्ला दिनमा नेपाल सरकारले सुधार गरेका कानुनी संरचनाका कारण थप लगानीयोग्य वातावरण बनेको उनको भनाइ थियो ।
‘कृषि तथा मझौला लगानीका क्षेत्रमासमेत एडीबी इच्छुक’
एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिजिन चेनले ऊर्जा, खानेपानी, सहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गरेको जानकारी दिँदै थप लगानीका लागिसमेत रणनीति तयार गरिएको बताए ।
दीर्घकालीन लगानीको सोच बनाएको र कृषि तथा मझौला लगानीका क्षेत्रमासमेत एडीबी इच्छुक रहेको बताए ।
सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुनले दक्षिण एसियामा पछिल्लो समयमा आर्थिक वृद्धिदर उल्लेख्यरुपमा बढ्दै गएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सफलता हासिल गर्दै आएको बताए ।
नेपालले बहुपक्षीय क्षेत्रमा क्रमशः सुधार गर्दै गएका कारण गरिबी निवारण, व्यापार अभिवृद्धि, वैदेशिक लगानीमा वृद्धि हुँदै आएको उल्लेख गर्दै उनले कृषिमा आधारित अर्थतन्त्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्