काठमाडौं । सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ ।
काठमाडौंमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकारसमेत गठन भएको उल्लेख गर्दै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचनासमेत नयाँ बनाइएकाले पनि नेपाल लगानीयोग्य राष्ट्र बनेको बताए ।
नेपालले नयाँ यात्रा शुरु गरेको भन्दै घरेलु तथा बाह्य लगानीकर्तालाईसमेत सहज एवं सरल वातावरण बनेको उनको भनाइ थियो ।
सहज करका दर तयार पारिएको, लगानीकर्ताको हितलाई ध्यानमा राखेर हालै मात्र नयाँ कानून तयार गरिएको, चीन र भारत जस्ता ठूला देशकोबीचमा रहेका कारण पनि ठूलो बजारको सम्भावना भएको भन्दै उनले लगानी गरी उच्च प्रतिफल हासिल गर्न आग्रह गरे ।
विदेशी लगानीकर्ताले जुन क्षेत्रमा लगानी गर्न चाहन्छन्, सोही क्षेत्र उपलब्ध गराउन आफू तयार रहेको भन्दै अर्थमन्त्री डा खतिवडाले स्थायी सरकार, नीतिगत तथा संरचनागत सुधार गरी लगानीकर्तालाई सहज वातावरण बनाइएका कारण नेपाल लगानीका लागि योग्य रहेको दोहो¥याए ।
लगानीका लागि एडीबी रणनीति बनाउँदैछ–उपाध्यक्ष क्षसिजिन
एशियाली विकास बैंकका उपाध्यक्ष क्षसिजिन चेनले ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गरेको जानकारी दिँदै थप लगानीका लागि समेत रणनीति तयार गरिएको बताए ।
उनले मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा लगानी गरेको र ती आयोजना सम्पन्न हुने चरणमा पुगेको भन्दै अन्य ठूला लगानीका क्षेत्रमा समेत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।
उनले दीर्घकालीन लगानीको सोच बनाएको र कृषि तथा मझौला लगानीका क्षेत्रमा समेत इच्छुक रहेको बताए । नेपाल यतिखेर आर्थिक विकासको मार्गमा अगाडि बढेको उल्लेख गर्दै बैंकले नेपाल सरकारको नीतिलाई सहयोग गर्दै लगानी गरेको उनको भनाइ थियो ।
‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्प साकार पार्न सघाइन्छ– उपाध्यक्ष विश्व बैंक
विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सङ्कल्पलाई पूरा गर्ने गरी लगानी गर्न आफू तयार रहेको बताए । पछिल्ला दिनमा नेपाल सरकारले सुधार गरेका कानूनी संरचनाका कारण थप लगानीयोग्य वातावरण बनेको उनको भनाइ थियो ।
सरकारसँगै निजी क्षेत्रले समेत सकारात्मक रुपमा लगानी गर्नसक्ने वातावरण बनेको भन्दै उनले निजी क्षेत्रमासमेत लगानी गर्न आफूहरु इच्छुक रहेको बताए । ऊर्जाको क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको भन्दै उनले दीर्घकालीन लगानीका लागि समेत आफू इच्छुक रहेको बताए ।
नेपाल दुई ठूला आर्थिक रुपमाशक्ति सम्पन्नहुँदै आएका देशको बीचमा रहेका कारण पनि लगानीका लागि थप उपयुक्त रहेको उनको भनाइ थियो । विश्व बैंकले नेपाललाई ५० वर्षदेखि लगानी गर्दै आएको र यतिखेर पनि धेरै परियोजनामा लगानी गर्दै आएको उनले जानकारी दिए ।
सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिक सम्बन्धीमन्त्री यू थाउङ टुनले दक्षिण एशियामा पछिल्लो समयमा आर्थिक वृद्धि दर उल्लेख्य रुपमा बढ्दै गएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सफलता हासिल गर्दै आएको बताए ।
नेपालले बहुपक्षीय क्षेत्रमा क्रमशः सुधार गर्दै गएका कारण गरीबी निवारण, व्यापार अभिवृद्धि, वैदेशिक लगानीमा वृद्धि हुँदै आएको उल्लेख गर्दै उनले कृषिमा आधारित अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने बताए । म्यान्मा जस्तै नेपाल पनि प्राकृतिक स्रोत र साधनले धनी रहेको भन्दै उनले बढी उत्पादकत्व भएको जमीन तथा काम गर्नसक्ने युवा जनशक्ति रहेको बताए ।
सम्मेलनलाई सम्बोधनगर्दै मुथुट समूहका अध्यक्ष एमजीजर्ज मुथुटले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको उल्लेख गरे ।
सरकारले लगानी भित्र्याउनका लागि प्रतिबद्धता जनाएको बताउँदै उनले आर्थिकरुपमा बलियो बन्ने प्रयास गरिरहेको समेत बताए ।
लामो समयपछि आएको दिगो सरकारले लगानी भित्र्याउनका लागि सम्मेलन गरिरहेको भन्दै उनले यो सम्मेलनले पनि नेपाल आर्थिकरुपमा बलियो बन्न प्रयत्न गरिरहेको बलियो प्रमाण दिएको टिप्पणी गरे । (रासस)









प्रतिक्रिया दिनुहोस्