Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


यी चार रुटमा गुड्दैछन् साझाका बस


0
Shares

काठमाडौं, कात्तिक २९ । साझा यातायातले उपत्यकाभित्र चारओटा बाटो (रुट)मा नयाँ बस गुडाउने भएको छ ।

साझाले भारतबाट खरिद गरेर ल्याएका ३० ओटा नयाँ बस सन्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत कात्तिक २४ गते बाटो अनुमति (रुट पर्मिट) का लागि पत्राचार गरेको थियो ।

सर्वसाधारण जनतालाई सुविधा दिन उपत्यकाका चार बाटामा ३० ओटा नयाँ र हाल सन्चालनमा रहेका आठओटा पुराना बसले सेवा दिने साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए ।

उनले भने–‘अब, एक/दुई दिनमै रुट पर्मिट पाउने विश्वास लिएका छौं । पर्मिट पाएलगत्तै बस सन्चालन गर्ने तयारीमा छौं ।’

कार्यकारी अधिकृत पाण्डेका अनुसार उपत्यकाका प्रमुख गन्तव्यलाई समेटेर चारओटा रुटमा सेवा सन्चालन गर्ने गरी रुट पर्मिट मागिएको छ ।

रुट नम्बर–१ मा लगनखेल, जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपालचोक, बसुन्धारा, सामाखुसीचोक हुँदै नयाँबसपार्कसम्म दुईतर्फी बस सन्चालन हुनेछ ।

त्यस्तै, रुट नम्बर–२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला, रातोपुल, जैनभवन, डिल्लीबजार, बागबजार, पुरानोबसपार्क, सहिदगेट, नयाँसडक, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँबजार, बालाजु बाइपास हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी हुनेछ ।

रुट नम्बर–३ अन्तर्गत् कोटेश्वर, तीनकुने, मीनभवन, बानेश्वर, माइतीघर, सिंहदरबार, सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी, सीतापाइला हुँदै स्वयम्भूसम्म बस चल्नेछ । यी तीनओटै रुटमा नयाँ बस सन्चालन हुने साझाले जानकारी दिएको छ ।

त्यसैगरी, रुट नम्बर–४ मा ग्वार्को, सातदोबाटो, लगनखेल, जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, नयाँसडक, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपालचोक, सहिद गंगालाल, हात्तीगौडा हुँदै बूढानीलकन्ठसम्म दुईतर्फी आठओटा पुराना बस सन्चालन गरिने छ ।

साझासँग हाल नयाँ ३० समेत गरी ४६ ओटा बस छन् । अबको केही दिनभित्रै उपत्यकामा साझाका ३८ ओटाले सेवा दिनेछन् ।

बाँकी आठओटाले उपत्यका बाहिरका चार गन्तव्यमा नियमित जस्तै सेवा दिनेछन् ।

थप १० ओटा डिलक्स बस सन्चालन गरिँदै
साझा यातायातले आफ्नो सेवा विस्तार गरी गुणस्तरीय सेवा दिन लामो दूरीमा थप १० ओटा डिलक्स बस सन्चालन गर्ने तयारी गरेको छ ।

त्यस्तै, उपत्यकामा एक ‘सेमी डिलक्स’ नमुनाकारुपमा सन्चालन गरिँदै छ ।

साझाले आफ्नै स्रोतबाट डिलक्स बस खरिद प्रक्रिया अघि बढाएको कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए । रासस