जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, कात्तिक ३० । भौतिक पूर्वाधारको विकास नहुँदा पाँचथरको पर्यटकीयस्थल मिक्लाजुङ ओझेलमा परेको छ ।
पाँचथर, मोरङ, धनकुटा र इलामको संगमस्थल रहेको मिक्लाजुङ पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, पदमार्ग नबन्नु र स्थानीयको निस्क्रियताका कारण ओझेलमा परेको हो ।
रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रबद्र्धन हुनसकेको छैन । समुद्री सतहदेखि २ हजार ४०० मिटर उचाइमा रहेको मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
यहाँबाट सगरमाथा, कन्चनजंघालगायतका हिमशृंखलासहित पूर्वका १४ ओटा जिल्लाको दृश्यावलोकन एकसाथ गर्न सकिन्छ ।
पहाडी उच्चस्थानमा रहेको मिक्लाजुङ सूर्याेदय अवलोकनका लागि पनि निकै आकर्षक छ । यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको छ ।
यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने भएकाले पाँचथर, इलाम, मोरङ, झापासहित भारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाटसमेत पर्यटकहरु पुग्ने गर्दछन् ।
तर, यस ठाउँको विकासका लागि पूर्वाधार निर्माणमा राज्यले सहयोग नगरेको स्थानीयको गुनासो छ ।
चौबीसैघन्टा शीतल हावा बगिरहने मिक्लाजुङ पुगेपछि जो–कोही पनि त्यहाँको भौगोलिक अवस्था एवं दृश्यावलोकनबाट लोभिने गरेका छन् । मिक्लाजुङमा पदमार्गकोसमेत विकास गर्न सकिने सम्भावना छ ।
पर्यटकीय र देवस्थलकारुपमा विकास गर्न सकिने प्रलव सम्भावना रहेको यो स्थान सरकारी बेवास्ताका कारण ओझेलमा परेको स्थानीय सुरेन्द्र राई बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।





प्रतिक्रिया दिनुहोस्