काठमाडौं, मंसिर १ । खोटाङ–ओखलढुंगा जोड्ने दुधकोसी नदीको जयरामघाट पुल निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् ।
प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीलाई बुधबार सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा बोलाएर पुल निर्माण छिटो गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिवहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्कीलगायत अधिकारीलाई बोलाएर प्रधानमन्त्रीले आगामी चैत्र मसान्तभित्र पुलको काम सक्ने गरी काम अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको भन्ने स्थानीयबासीको गुनासो स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिए ।
गत साता राष्ट्रिय गौरवका आयोजनाको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीयबासिन्दाले पुल निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
२०६६ साल असार २३ गते निर्माण सम्झौता भइ २०७० मंसिर १५ गतेसम्म सम्पन्न हुनुपर्नेमा हालसम्म सो पुल सम्पन्न भएको छैन । रासस





प्रतिक्रिया दिनुहोस्