काठमाडौं, मंसिर १ । नेपालीसँग भएको २५ हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् ।
२५ हजार रुपैयाँ भारु राख्न पाउने व्यवस्था भएकाले उक्त परिमाणको रकम साट्न सरकारले भारतसँग विशेष छलफल गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित यससम्बन्धी छलफलमा अर्थविद्हरुले उक्त जोड दिएका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले भारतीय नोट सटहीमा जनतालाई आश्वस्त तुल्याउनुपर्ने बताए ।
‘जनता आत्तिएको अवस्थामा सरकार र राष्ट्र बैंकले आश्वस्त तुल्याउनुपर्ने’मा उनले जोड दिए ।
नेपाली मुद्राभन्दा भारतीय मुद्रा बलियो भएकाले नेपालीहरुले ‘स्टोर अफ भ्यालु’कोरुपमा करोडौं मूल्यका भारतीय नोट राखेको हुनसक्ने उनले बताए ।
अर्बौ रुपैयाँ बराबरका भारतीय नोट नेपालमा रहेको समाचार आउँदै गर्दा नेपाल सरकारले हामीसँग यति भारतीय नोट छ भनेर भारत सरकारलाई जानकारी दिनुपर्नेमा पनि उनले जोड दिए ।
नोट प्रतिबन्ध अरु मुलुकमा पनि हुने गरेको तर भारतमा जनसंख्या धेरै भएकाले र व्यवस्थापनको कमजोरीले बढी नै हल्लाखल्ला भएको उनको भनाइ छ ।
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारतको मुद्रा प्रतिबन्धले केही नकारात्मक प्रभाव पारेपनि नक्कली नोट, आतंकवाद, अवैद्य सम्पत्ति आर्जनमा भने यसले निरुत्साहित गरेको बताए ।
यस कदमले आर्थिक कारोबारमा बैंकिङ प्रणालीको प्रयोगलाई प्रोत्साहन पुग्ने भन्दै उनले नेपालले पनि यसबाट सिक्दै बैंकिङ प्रणालीबाट वित्तीय कारोबार गर्न प्रयास गर्नुपर्ने धारणा राखे ।
२५ हजार रुपैयाँसम्म सरकारले साटेपनि त्योभन्दा बढीको भारतीय नोटको जोखिम भने सम्बन्धित पक्षले नै लिनुपर्ने पनि उनले उल्लेख गरे ।
अर्थविद् डा. डिल्लीराज खनालले नेपालको अर्थतन्त्र कसरी बढाउने, मौद्रिकनीतिको आन्तरिक क्षमता बढाउने र समानान्तररुपमा मौलाइरहेको कालो अर्थतन्त्रलाई रोक्नुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्