काठमाडौं । नेपाल सरकारको संयोजनमा शुक्रबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ ।
२०७३ सालको सम्मेलनको जगमा उभिएर तेस्रो लगानी सम्मेलनको आयोजना गर्न लागेको हो ।
सरकारले लगानी सम्मेलनका लागि ७७ वटा परियोजना छनौट गरेको छ । जसमा ५० वटा सार्वजनिक र बाँकी निजी क्षेत्रका परियोजना छन् ।
आर्थिक समृद्धिको मार्गचित्रका लागि सम्मेलनबाट अपेक्षित विदेशी लगानी भित्रने विश्वास सरकारको छ ।
नेपालको लगानीमा महत्वपूर्ण जिम्मेवारी र हिस्सेदार बन्दै आएको गैर आवासीय नेपाली संघ(एनआरएनए)ले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
एनआरएनएले लगानी सम्मेलनमा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर पनि गर्ने तयारी गरेको छ ।
संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ लगानी तथा बाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तले नेपाल सरकार समेतको लागानीमा स्थापना हुने कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने जनाएका छन् ।
गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको पन्तले जानकारी दिएका छन् ।
यद्यपी, विदेशमा रहेका नेपालीहरुको लगानीमा नेपालमा ठूला उद्योगधन्दा, कलकारखाना स्थापना भए पनि यसको आधिकारिक तथ्याकं एनआरएनएले राख्न सकेको छैन ।
विनाशकारी महाभूकम्पपछि एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा ब्यक्तिगत र संस्थागत रुपमा करोडौं लगानी गरिसकेका छन् । मेघा प्रोजेक्टका रुपमा गोरखाको लाप्राकका भूकम्पपीडितका लागि बनाएको एकीकृत नमुना बस्ती रहेको छ ।
पाँच सय ७३ नयाँ घर निर्माणका लागि ७० करोड रुपैयाँ खर्च हुने अपेक्षासहित सुरु भएको नमुना बस्ती निर्माणमा कति खर्च भयो भन्ने आधिकारिक तथ्याङ बाहिर आएको छैन ।
एनआरएनले नेपालको स्वस्थ्य, शिक्षा, उद्योग, होटेल, जलविद्युत्, एयरलाइन्स, व्यापारलगायतका क्षेत्रमा लगानी गरेको देखिए पनि आधिकारिक तथ्याकं तयार पार्न नसकेकोप्रति कतिपय एनआरएनमै आवद्ध लगानीकर्ताहरुले नेतृत्वको आलोचना गर्ने गरेका छन् ।
सन् २०१४ मा नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा संस्थाले कुन–कुन क्षेत्रमा केकति लगानी गरेका छन्, कतिलाई रोजगारी दिएका छन् भन्नेलगायतका विषयमा सामान्य अध्ययन गरेपनि पछिल्लो समय कुनै अध्ययनहरु भएका छैनन् ।
एनआरएनमा आबद्ध व्यवसायीहरुले पछिल्लो समय जलविद्युत र होटल तथा रेष्टुरेन्टमा ठूलो लगानी भित्र्याएका छन् । तर यसको कुनै तथ्याकं नभएको बताइएको छ ।
सन् २०१४ मा नेपालका नौं वटा जिल्लामा गैरआवसीय नेपालीको लगानी पौने ३० अर्ब रुपैयाँ पुगेको थियो ।
काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, मकवानपुरलगायत बढी लगानी हुने भनी छानिएका ती जिल्लामा एनआरएनको कुल लगानी २९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ रहेको सामान्य अध्ययनले देखाएको थियो ।
त्यसपछि नेपालमा कति लगानी भित्रियो, ब्यवसायीहरुलाई कानुनी जटिलताहरु के के छन् भन्ने विषयमा एनआरएनएले कुनै चासो नदेखाएको आरोप लागिरहेको छ ।
काठमाडौंमा आफ्नै सुविधा सम्पन्न भवन(मुख्यालय) निर्माण गरिरहेको एनआरएनएले २५ करोडको लगानी गरिसकेको छ तर यसको खर्च अझै बढ्ने देखिएको छ ।
काठमाडौं र ललितपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने बाग्मती नदी किनारको ३२ रोपनी क्षेत्रफलमा निर्माण भएको शंखमूल पार्क दुई करोडमा सम्पन्न गर्ने भनिए पनि यसको लागत करिब साढे ३ करोड पुगेको थियो ।
एनआरएन आइसिसी उपाध्यक्ष एवं शंख्खमुल पार्क परियोजना समितिका संयोजक कुल आचार्यले पार्क निर्माणमा करिब साढे तीन करोड खर्च भएको यसअघि नै जानकारी दिइसकेका छन् ।
भवन निर्माण र शंखमूल पार्क निर्माणमा मात्र अपेक्षा गरेभन्दा लागत बढेर गएको छ । अन्य क्षेत्रका आयोजनाहरुमा पनि लगानी अधिक रुपमा बढेर गएको देखिन्छ ।
तयार पारिएको योजनाहरुमा अपेक्षा भन्दा लागत खर्च बढेर जानु, तथ्याकं मजवुद नहुनाले एनआरएनएको लगानी पारदर्शितामा प्रश्नहरु उठेका छन् ।
त्यतिमात्र होइन कतिपयले एनआरएनएको सूचना प्रवाह, मिडिया रणनीति र तथ्यांक संकलन फितलो हुँदा अनियमितताले स्थान पाउनसक्ने अनुमान गर्ने गरेका छन् ।
जसका कारण संस्थागत र ब्यक्तिगत लगानीको अध्ययन गरी आधिकारिक तथ्याकं सार्वजनिक गर्न एनआरएनएको केन्द्रिय नेतृत्वलाई दबाब बढेको छ ।
लगानीको प्रतिबद्धता जनाउने र सम्झौतापत्रमा हस्ताक्षर गर्नेमात्र नभइ तथ्याकंलाई पनि बलियो बनाउन आवाज उठेको छ ।
विभिन्न देशमा रहेका एनआरएनएले हरेक जिल्लामा स्वास्थ्य चौकी, पुस्तकालय, विद्यालय भवन निर्माण, छात्रबृत्ति साथै बिपन्न परिवारलाई आर्थिक सहयोग जुटाएर पठाउने गरेका छन् ।
साथै केन्द्रिय तहको नेतृत्वमा रहेका ब्यक्तिहरुले पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
संस्थापक उपेन्द्र महतोको लगानीमा ललितपुरको मेडिसिटी अस्पताल, पूर्वअध्यक्ष जीवा लामिछानेले सानिमामाई जलविद्युत् आयोजना, बर्तमान अध्यक्ष भवन भट्टको होटेल, एयरलाइन्स, मिडियामा लगानी छ । –युवराज गौतम/ईमेज









प्रतिक्रिया दिनुहोस्