काठमाडौं, मंसिर ३ । लोडसेडिङ हटाउन कम विद्युत खपत गर्ने विद्युतीय सामग्रीको उपयोगमा बढावा दिन व्यवसायीहरुले माग गरेका छन् ।
शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमन्डपमा सुरु भएको विद्युतीय सामग्रीको प्रदर्शनी ‘इलेक्ट्रो टेक’मा व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले कम विद्युत खपत गर्ने एलइडी चीमलगायतका वस्तुको भन्सारदर घटाउन माग गरेका हुन् । सरकारले एलइडी चीममा २० प्रतिशत भन्सार लगाउँदै आएको छ ।
व्यवसायीहरुले आन्तरिक लगानीमा विद्युत् उत्पादन बढाउन निजी क्षेत्रलाई ७ रुपैयाँ ७० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गराउने वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा ऊर्जामन्त्री जनार्दन शर्माले आफ्नो ३७ बुँदे कार्ययोजनाअनुसार नै लोडसेडिङ हटाउन लागिपरेको भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनीको आठौं संस्करण ‘निक इलेक्ट्रो टेक २०१६’ सुरक्षित एवं गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोग बढाउन सम्बन्धित पक्षको चेतना जगाउन आयोजना गरिएको जनाइएको छ ।
प्रदर्शनीमा ऊर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामग्री, सूचना प्रविधिलगायतका एक सय कम्पनीका १ सय १४ ओटा स्टल राखिएका छन् ।





प्रतिक्रिया दिनुहोस्