
काठमाडौं, चैत १३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले शारीरिक र मानसिक अपांगता भएका बालबालिकाका लागि देशभरि नै पुनःस्थापना केन्द्र स्थापना र भत्ताको व्यवस्था गर्न लागेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शारीरिक र मानसिक अपांगता भएका व्यक्तिहरुलाई परिवार, समाज र देशले बोझकारुपमा लिन नहुने बताए ।
मन्त्री ज्ञवालीले आफ्नो छोरीमा पनि मानसिक अपांगताको समस्या रहेको भन्दै आफूले पनि त्यो समस्यालाई नजिकबाट भोगेको अनुभव सुनाए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले महानगरपालिकाले मानव सेवा आश्रम नामक संस्थासँग मिलेर सडक बालबालिकालाई राख्ने र शिक्षा दिने व्यवस्था सुरु गरेको जानकारी दिइन् ।
कार्यक्रममा मन्त्री ज्ञवालीले मानसिक पक्षघात भएका बालबालिकाको पीडा समेटेर नरेशकुमार प्रधानको शब्दमा तयार पारिएको एउटा गीतको श्रव्यदृष्य सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्