Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, अपेक्षित विदेशी लगानी भित्रने विश्वास


0
Shares

काठमाडौं । सरकारले २०७३ सालको सम्मेलनको जगमा उभिएर तेस्रो लगानी सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ ।

आर्थिक समृद्धिको मार्गचित्रका लागि सम्मेलनबाट अपेक्षित विदेशी लगानी भित्र्ने विश्वास सरकारको छ ।

शुक्रबारदेखि सुरु हुने दुई दिने लगानी सम्मेलनबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मेलनमा कानूनी, प्रशासनिकलगायत सबै विषयमा सरोकारवालाहरुलाई प्रत्यक्ष जानकारी गराइने बताए ।

उनले सम्मेलनमार्फत लगानीकर्तालाई सुरक्षादेखि प्रतिफलको ग्यारेन्टी गरिने बताए ।

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्रीसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरुलाई साथमा राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले सम्मेलनले लगानीका क्षेत्रबारे लगानीकर्तालाई स्पष्ट पार्ने बताए ।

सरकारले लगानी सम्मेलनका लागि ७७ वटा परियोजना छनौट गरेको छ । जसमा ५० वटा सार्वजनिक र बाँकी निजी क्षेत्रका परियोजना छन् ।

मन्त्री खतिवडाले डुइङ बिजनेश इन्डेक्समा सुधार गर्नुपर्ने रहेको भन्दै यसका लागि विश्व बैंकले दिएको सुधार सुझाव कार्यान्वयन गरिने बताए ।

निजी क्षेत्रले लगानी सम्मेलनलाई सुवर्ण अवसरको रुपमा लिएको भन्दै देशमा लगानीको वातावरण बनिरहेको सन्देश विदेशीलगानीकर्तालाई दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशमा छ सय बढी लगानीकर्ता सहभागी हुने लगानी बोर्डले जनाएको छ ।