
जयपुर, चैत १३ । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो दलको प्रचारप्रसारमा जुट्न थालेका छन् । भारतमा जारी ‘इन्डियन प्रिमियर लिग’ (आइपिएल) क्रिकेट प्रतियोगिता पनि चुनाव प्रचारको माध्यम बन्न थालेको छ ।
खेल हेर्नका लागि स्टेडियम पुगेका दर्शकहरु खेलकै क्रममा राजनीतिक नारा लगाउन थालेका हुन् ।
यसै क्रममा गत सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्शकले स्टेडियममै नारा लगाएका छन् । मोदीले आफूलाई देश र जनताको ‘चौकीदार’ बताइरहँदा दर्शकको एक समूहले क्रिकेट म्याच चलिरहेको समयमा ‘चौकीदार चोर हे’ भन्दै नारावाजी गरेको हो । यो नारा भारतको प्रमुख विपक्षी दल कांग्रेस आइले लगाउने गरेको छ ।
सोमबार राति जयपुरमा किंग्स इलेभेन पञ्जाव र राजस्थान रोयल्सबीचको खेलका क्रममा दर्शकले नारा लगाएका हुन् । दर्शकको नारावाजीसहितको २४ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा किंग्स इलेभेन पञ्जावका ब्याट्सम्यान क्रिजमा देखिन्छन् । राजस्थानका बलर जयदेव उनादकट रन–अपका लागि हिँडिरहँदा दर्शकदीर्घाबाट ‘चौकीदार चोर हे’ नारा लागेको सुनिन्छ ।
बीबीसी हिन्दीले उक्त भिडियो असली रहेको दावी गरेको छ । गहन अनुसन्धानका आधारमा बीबीसी हिन्दीले जनाएअनुसार म्याचको पहिलो पारीको १४ औं ओभरमा स्टेडियमको स्पीकरबाट एउटा नारा उच्चारण हुन्छ– जितेगा भाई जितेगा !’
जवाफमा दर्शकदीर्घाबाट आवाज आउँछ– राजस्थान जितेगा ।
१५ औं र १७ औं ओभरमा पनि पनि यस्तो नारा दोहोरिएको हुन्छ ।
राजस्थानका बलर जयदेव १८ औं ओभरको पहिलो बल फालिसकेपछि स्टेडियमको उत्तरी भागबाट ‘मोदी–मोदी’ को नारा लाग्न थाल्छ । मोदीका समर्थकले नारावाजी गरेलगत्तै सोही ओभरको दोस्रो बलमा निकोलस पुरनले चौका प्रहार गर्छन् । त्यसपछि नारा परिवर्तन हुन्छ ।
दर्शकदीर्घाबाट नयाँ नारा लाग्न थाल्छ– चौकीदार चोर हे ।
पाँच पटक दर्शकले यो नारा दोहोर्याउँछन् ।
सन् २०१४ को निर्वाचन अघि पनि आइपिएल चलिरहेको थियो । त्यतिबेला पनि आइपिएल म्याचका क्रममा राजनीतिक नारा लागेको थियो । त्यतिबेला दर्शकले मोदीको समर्थनमा नारा लगाएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्