-प्रकाश लम्साल/ईमेज
बारा । राष्ट्रिय आयोजनाका रुपमा रहेको वीरगंज–पथलैया ६ लेन सडक विस्तारको गति सुस्त देखिएको छ ।
सम्झौताको समय सकिएर ६ महिना म्याद थप गरे पनि काममा चरम ढिलासुस्ती हुँदा अवस्था निराशाजनक देखिन्छ ।
पथलैया सडकखण्ड विस्तारको लागि सम्झौता भएको थियो । ३० महिनामा काम सक्नुपर्ने प्रावधानसहित ६ वटा कम्पनीलाई छुट्टाछुट्टै भाग लगाएर निर्माणको जिम्मा दिइएको थियो ।
सम्झौता अवधि गत पुषमा सकिएपछि पुनः ६ महिनाको समयसीमा बढाइएको छ ।
केही कम्पनीले काममा ढिलासुस्ती गरिरहेको र जितपुर सिमरा उपमहानगरको जितपुर बजार र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको ११ सय मिटर क्षेत्रमा जंगल रहेकाले पनि काम प्रभावित भइरहेको आयोजना प्रमुख सञ्जय कुमार मिश्रको भनाइ छ ।
५ अर्व ५० करोडको लागतमा निर्माणाधीन २७ किलोमिटर सडक विस्तारको काम ४५ प्रतिशत मात्र सम्पन्न हुनुले थपिएको समयमा पनि आयोजना सम्पन्न नहुने निश्चित छ ।
आयोजनमा ठेक्का लिएका कम्पनीहरु एएम.आर/कन्टेक जे.भी, शर्मा/युनाईटेड् ब्युल्डर्स्दि/वा निर्माण सेवा, ए.एम.आर/कन्टेक जे.भी, ए.एम.आर/पप्पु/कन्टेक, श्रेष्ठ/बिरुवा/एपेक्स् जे.भी र पप्पु/लुम्बिनी रहेका छन् ।
विद्युत, वन पाइपलाइन र जितपुर बजारका कारण निर्माणमा अवरोध भएको ए.एम.आर/कन्टेक जे.भीका प्रबन्धक गौरब सिंहको तर्क छ ।
त्यस्तै सडक विभागका योजना प्रमुखको पटकपटक परिवर्तन भइरहेकाले योजनामा ढिलाइ भइरहेको प्रबन्धक सिंहको भनाइ छ ।
निर्माणको जिम्मा लिने तर प्रतिबद्धता समयमा पुरा नगर्दा आम नागरिक दिक्दार बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्