
-संजिव कार्की
सुजातालाई क्यान्सर उपचार गर्न जब नेपाल सरकारले ५० लाख राशी दिने निर्णय गर्यो तब चर्चा ,आलोचना, निन्दा, आक्रोस ,गाली र सन्देहको घेरामा नेपाली कांग्रेसका युवा नेता मिडियाका आकर्षण तथा स्वास्थ्य मन्त्रि गगन थापा परे । चौतर्फी बिरोध, असहमति, गुनासो, शंका अनि क्षोभ असन्तुस्टीले सामाजिक संजाल भरि भराउ भए । बिरोधी र उनलाई खुइल्याएर पुड्को पार्नेहरु एका एक हौसिए । गगनको बद्ख्वाईमा आनन्द र आत्मरतिको कल्पनामा चुरुल्लम डुबे । मन मनमा खुसि भए । गजब बहाना पाइयो भेटियो अब गगन सिद्दियो भनेर मख्ख परे र सामाजिक संजालमा जति सकिन्छ गगनको बिरुद्द सामग्री राख्ने पोस्ट गर्ने कुत्शित घृणा फैलाउने धन्दुकारी धन्दा तेज गतिमा सुरु गरे । बिपक्षी आइलाग्नु , खनिनुं विपक्षको राजनीतिक धर्म भए पनि आफ्नै पार्टीका आन्तरिक प्रतिपक्ष समेत गगनलाई सखाप पार्न मरिमेटेर लागे ।
आन्तरिक प्रतिस्पर्धी स्वयंले के सोच्न सकेनन भने गगन प्रतिको आक्रोश, घृणा, अपमान, तिरस्कार प्रकारान्तरले कांग्रेस प्रति नै हो । गगन असफल हुनु भनेको नेपाली राजनीतिको एउटा सम्भावना बोकेको आशा विश्वास र भोरासा भरिएको युवा राजनीतिक व्यक्तित्वको असमायिक अवसान हो । गगनको असफलतासंग धेरै नेपाली युवाहरुको सपना, इच्छा, आकांक्षा र सुनौलो भविष्यको निर्ममतापूर्वक हत्या गरिनु हो । गगनलाई समस्यासंग भाग्न होइन डटेर मुकाबिला गर्न बाधा व्यवधान पन्छाउन हात र साथ् दिनु पर्छ । मैदान खाली गरेर बाहिर निस्कन हैन ,अन्तिमसम्म मैदानमा खरोसंग भिड्न आत्मबल र हौसला बुलन्द गर्नुपर्छ । असल र कुशल अनि चतुर भविष्य द्रस्ता राजनीतिक नेता कार्यकर्ताले भिडको आवाजलाई सुन्ने हो तर भिडको आवाजको पछि लाग्ने हैन । भिडलाई आफ्नो पछि हिडाउने पछि लाउने हो ।
आज क्षणिक समयको लाभ हानी भन्दा पनि दीर्घकालीन फाइदा र सर्वजन हितायलाई प्राथमिकीकरण गर्ने हो । गगन निरास बनेर फर्कने बेला भएको छैन । फर्कनु आत्मघाती निर्णय हुन्छ । आत्मघात जघन्य अपराध हो । पहिलो प्रयास असफल भयो ,पारियो भन्दैमा छोडेर भाग्नु कदाचित उचित होइन अरु अनेकौ प्रयास र अथक मेहनेत गर्न दिनुपर्छ । अपेक्षा छ गगन यो सानो विफलताले थाक्ने छैनन् । गोयबल्स मर्का प्रचार शैली अनि हामी नेपालीको भावावेसमा आएर आफ्नो समर्थन बिरोध निषेध र नियोजन गर्ने बानी बढी भावुक र भिडको आवाजलाई छिटो सुन्ने तत्काल प्रतिक्रिया बनाउने प्रचलनले गगन आलोचनाको तारो बने निश्चय नै गगन प्रतिको आम मानिसको अपेक्षाले त्यसलाई अनर्थ भन्न सकिन्न गगन प्रति उनको पार्टी उनका समर्थक आफन्त सुभेच्छुक, शुभचिन्तक मात्र हैन अरु पार्टी तिनका नेता कार्यकर्ता सबैले आशाको नजरले हेरेको छन । समग्र देश गगन प्रति आशावादी छ र देखिन्छ भन्दा अतिशयोक्ति नहोला । समसामयिक राजनीतिकर्मीहरुको भिडमा गगन अलि भिन्नै र अलि बढी क्षमता भएका नेता हुन् भन्ने कुरामा धेरैजना असहमत छैनन् ।
गगनको भाषण र व्यक्तित्वसंग लोभिने अनि गगन हाम्रो पार्टीको नेता हुनुपर्थ्यो कांग्रेसको हैन भन्ने आवाज पनि नसुनिएको हैन । तसर्थ गगनको चार्म कमि छैन जहाँ सुकिलोपन हुन्छ त्यहाँ सानो छिटा परेको टड्कारै देखिन्छ । बस सानो छिटा मात्र हो सुजाताको ५० लाख प्रकरण गगनको लागि । गगन कार्यविधि बनाएर राज्यले दिने सहयोग रकम लाई पारदर्शी , ब्यबहारिक र बैज्ञानिक अनि तर्क संगत र समतामुलक बनाउने अभियानमा नै छन् देखिन्छन । सुजातालाई दिने सहयोग मन्त्रि निधिको प्रस्तावमा प्रचण्डले पारित गर्न लगाएका हुन् । जुन क्याबिनेटमा गगन नियतबस अनुपस्थित भएका हैनन् । उनले आफ्नो असहमति सार्वजनिक गरिसकेका पनि छन फेरि आफ्नो मिसन बाट पछि हटेको स्थिति पनि हैन तब गगनलाई मात्र दपेटेर अर्को कुन बहादुरले सो रोक्न छेक्न सक्छ ? यसको पनि गहकिलो जबाफ दिएर मात्र गगनलाई मैदान खालीगर भन्न सुहाउछ ?
गगन मन परेर भन्दा पनि गगनकै हाराहारीमा आउने अर्को मान्छे हाललाई नदेखेर गगनलाई समर्थन गर्नुपर्छ यसको मतलव गगन मात्र सक्षम अरु छैनन् होइन । युवाहरुमा धेरै आशालाग्दा अनुहारहरु प्रसस्त छन । धनराज विश्व प्रकाश ,प्रदिप कांग्रेसका केहि प्रतिनिधि नामहरु हुन् । एमालेमा योगेश ,घनश्याम ,गोकर्ण रामकुमारी अदीत्यादी । माओवादीमा पनि केहि आशा संचार गर्ने युवाहरु छन् । कमल थापासंग पनि राजेन्द्र लिंगदेन जस्ता देश र समाज बुझेका अनुहारहरु छन ।
हामी सबै पार्टीबाट आशा नै मारी सक्ने अवस्थामा छैनौ अझै देशको लागि यहि भएका सम्भावनाहरुबाट काम चलाउन सकिन्छ र सक्नुपर्छ पुरै निराश भएर बस्नु पर्ने अवस्था होइन तर अब पनि आग्रह पालेर पूर्वाग्रह साँधेर हामी बिरोधका खातिर बिरोध एक अर्कालाई काम नै गर्न नदिने खोट पूर्ण चिन्तन र ब्यबहार गरेर बस्यौ भने देश दुर्दिनबाट माथि उठ्न सक्दैन । जादुको छडी लिएर रातारात कोहि आउने छैन । देश रातारात काया पलट हुन् सक्दैन । हरेक थिति बसाल्ने कुरा दुरुह र अपत्यारिलो नै लाग्छ तर प्रयास गर्नेहरु हिम्मत हारेनन भने असल थिति बस्न सक्छ । बसाउनुपर्छ नबसे नबसाए समय ले अर्कै खेल खेल्नेछ । गगन समयले लिने परिक्षामा सामेल छन । डाक्टर के सीले गगनको परीक्षाको प्रश्न पत्र तयारी गरि रहेछन । स्वास्थ्यमन्त्री भएको कारण अरु नेपाली जनताले पनि सयौं प्रश्न पत्र बनाएर गगनलाई पठाई रहेका छन् । गगन कनि कुथी उत्तर खोज्दै छन यति नै बेला अरुले चोरेको चिट्लाई लिएर गगनलाई रेस्टीकेट गर्न मिल्दैन । खबरदारी गरौ तर सामेल परीक्षाबाट उत्तरपुस्तिका नबुझाई फर्की नभनौ । सतही विश्लेषण र पंगु तर्क गरेर गगनलाई फिर्ता हुने आग्रह नगरौं ।
युवा पुस्तामा गगन जति पढेलेखेको अध्यनशील प्राज्ञिक, बौद्धिक, तर्कशील , विषय वस्तुको , बस्तुनिस्ठ मुल्यांकन गर्ने , खोज गर्ने दमदार आशा भरोशा लाग्ने भाषण गर्ने आकर्षक प्रस्तुति र मन्त्र मुग्ध पार्ने आशाबादिता देखाउने थोरै नेताहरु मध्येका व्यक्ति हुन् । यीसंग पनि मानवोचित कमीकमजोरी हुनु अस्वाभाविक हैन पूर्ण मानव कोहि छैन र हुन्न पनि हरेक कुरामा निपुर्णता केवल कल्पना मात्र हो हामी कल्पनाको डुंगामा हैन बास्तविकतामा पौडन सिकौ ।
यहाँ बाद सिद्दान्त विचार र आस्थाको आधारमा मान्छेको क्षमता मुल्यांकन गरिन्छ । आग्रह पालिन्छ । आशयको दुन्दुभी फुकिन्छ । दोषी चस्मा लाएर अन्डरस्टिमेट र ओभर स्टिमेट गरिन्छ । जुन सर्वथा अनुचित र संकुचित मानशिकता हो । राम्रो र असल काम जसले गरे पनि, जुन पार्टी र सिदान्त बोकेको मान्छेले गरे पनि हुन्छ । गुणदोषको आधारमा मुल्यांकन गर्ने पुरस्कृत गर्ने अनि दण्डित गर्ने असल संस्कार र परिपाटी बिना राम्रो काम ओझेलमा पर्नेछ । कु–प्रचार अनि त्यसको शैलीले कहिलेकाँही अनाहकमा राम्रो काम गर्ने हरु प्रताडित हुनु पर्ने बिडम्बनाबाट हामीले छुटकारा पाउने कहिले ? हिजो गोकर्ण बिष्ट ,लालबाबुलाई निरुत्साहित गरियो । आज .गगनलाई पछार्ने हतारो छ । कुलमानलाई तह लगाउने प्रपन्च रचिदै छ । राजनीति समाजसेवा, कर्मचारी ,खेलकुद साहित्य संगीत शिक्षा, प्रबिधि ,पत्रकारिता समाजका बहुआयामिक क्षेत्र र आयाममा अब्बल मान्छेहरु प्रसस्त छन् । जसलाई मौका दिन तेरो र मेरो भन्नु हुँदैन । समाज, देश परिवर्तन यहि र अहिले भएका मध्येबाट सम्भव छ । हरेक कुराको विकल्प हुन्छ निर्वकल्प भन्ने कुरा केहि छैन तर विकल्प सोच्ने बेला अहिले हैन एकता भाइचारा स-अस्तिव र समभावबाट देश बोक्ने र हाक्ने उन्नत संस्कृतिको विकास गर्नुपर्छ ।
सामाजिक संजालमा जुन कुराहरु आए राज्यले कसको उपचारमा कति खर्च गर्यो जसबाट जनतालाई जानकारी भयो कि राज्य दोहन गर्न कुनै पनि पार्टी कम रहेनछन् । अब एकले अर्कोलाई गाली गर्ने नैतिक हैसियत छैन । तर अब बिगत भुलेर आगामी दिनमा राज्यले दिने सहयोग राशी कति र कस्तो अवस्थामा कस–कसलाई कसरी दिने स्वास्थ्य मन्त्रालयले तयार गर्दै गरेको कार्यविधिलाई कसरि अरु प्रभावकारी र जनहितकारी बनाउन सकिन्छ । त्यसबाट गगन पछि हटेको अवस्था छैन । २०६२/०६३ को जन आन्दोलन पछि बनेको सरकारले ४ अर्ब बैधानिक लुटमा सिध्याउने काम गर्यो । जसमा तुलसी गिरीले समेत २० लाख रुपियाँ पाएका छन भने अब सुजाताले लिएको ५० लाखको कारण गगन सकिए भन्नु जायज हैन । बरु सुजाताको अरण्यरोदन नै बेठिक हो । सुजाताले पनि अग्रजको सिको गरिन नौलो गरिनन् । सुजातालाई भन्ने नैतिक हक सर्वसाधारण जनतालाई छ । तर यो मुलुक हाँक्ने पार्टी अनि मुलुकको डाडु पन्यु खेलाई सकेकाहरुलाई चैं लाज लाग्नुपर्ने हुन्छ । आफ्नो आङ मा भैसी छ कि जुम्रो त्यो हेरेर मात्र बोल्न अरुलाई सुहाउँछ ?
नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता कार्यविधि २०७१ मा उल्लेखित व्यवस्थालाई किन उलंघन गरियो जसमा कुन रोग लागे कस्तो व्यक्तिलाई कति रकम दिने र कहाँ उपचार गर्ने प्रस्ट व्यवस्था छ । तर यसलाई लत्याएर फालियो जसको नैतिक दायित्व पूर्व सरकार प्रमुखहरुको हो कि होइन ? अब गल्ति कमीकमजोरीलाई लेसनको रुपमा लिएर बुद्दिमता पुर्वक काम गर्नु बान्छनीय छ । कार्यविधिमा ८ वटा रोग जस्तै मुटु ,मिर्गौला, क्यान्सर अल्जाइमर,पार्किन्सन्स,स्पाइनल इन्जुरी, हेडइन्जुरी ,र सिकलसेल भएमा त्यसलाई प्रमाणित गर्ने कागजात पेश गरेमा आर्थिक सहयोग पाउने व्यवस्था छ । तर यहाँ मनपरी ढंगले जति पनि जहाँ पायो त्यहि जहिले पायो तहिले बिना मापदण्ड दिने गलत नजिर कायम गरिएको छ । जसलाई अझ ब्यबस्थित पार्न जनताको लागि स्वास्थ्यमा सजिलो सग पहुच पुर्याउन डाक्टर गोविन्द केसी ले उजागर गरेको सत्यलाई समात्न स्वास्थ्यलाई माफियाको चंगुलबाट बाहिर ल्याउने चुनौतिपूर्ण काम गर्न पनि गगन भाग्नु हुँदैन । स्वास्थ्यमन्त्री भएर गगनले जे गरे जे गर्न खोज्दैछन त्यसको परिणाम आज र अहिल्यै खोज्न आतुरता नगरौं समयले दिएको जिम्बेवारीबाट पन्छिए भने गगनलाई कसैले थापेको काँधले पनि बचाउने छैन । काम गर्छु भन्नेको काम हेर्ने धैर्यता गरौं ।
प्रतिक्रिया दिनुहोस्