
काठमाडौं, मंसिर ८ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत बुधबार भएका खेलहरुमा शंखमुल फुटसल र ह्वाइट हर्स फुटसल विजयी भएका छन् ।
समुह बी को खेलमा उपाधि दाबेदार शंखमुलले कुमारी फुटसललाई १०-२ को बिशाल गोल अन्तरमा पराजित गरेको छ ।
खेलमा शंखमुललाई विजयी गराउन अभय रानाले ४ गोल गरे । यसैगरी निर्मल गुरुङले दुई गोल गरे भने हिमशैल घर्ती, बिप्लब ध्वज शाह र युनेश अवालेले एक एक गोल थपे ।
कुमारीका लागि सुबेत लामा र रुपेश क्षेत्रीले एक एक गोल गरे । यो जितसँगै शंखमुल फुटसलले अंक तालिकाको शिर्ष स्थानमा आफ्नो अग्रतालाई फराकिलो पारेको छ । ९ खेलबाट उसको २२ अंक भएको छ ।
रेडबुल फुटसल लिग अन्तर्गत बुधबार भएको समुह ए को खेलमा कपन निलोपुलको ह्वाईट हर्स फुटसलले कौशलटारको ईम्पेरियल फुटसललाई ८-५ ले हरायो ।
ह्वाईटहर्सलाई विजयी गराउन रितेश लामाले ह्याट्रिक गरे । यसैगरी मन्जिल महर्जन र मनोज प्रजापतीले दुई दुई गोल गर्दा प्रनेश गोर्खालीले एक गोल थपे ।
पराजित टोली ईम्पेरीयलका निराजन बिक्रम गैरेले ह्याट्रिक गरे भने दिपक घिसिङ र किशन अधिकारीले एक एक गोल थपे ।
जितसँगै ह्वाईटहर्स फुटसलले अंक तालिकामा तेस्रो स्थानको बानेश्वर रिक्रिएशनल सेन्टरलाई भेटाएको छ । ९ खेलबाट उसको १६ अंक भएको छ ।
प्रतिक्रिया दिनुहोस्