
काठमाडौं, मंसिर ११ । एसीसी महिला एसिया कप ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
थाईल्याण्डमा आज सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाललाई टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तानले ९ विकेटले हराएको हो ।
खेलमा नेपालले दिएको ४८ रनको झिनो चुनौती पाकिस्तानले १० ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानका लागि आयशा जाफरले २६ रन जोडिन् भने जाभेरिया खानले अविजित १६ रन जोडिन ।
यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर १ बल क्रिजमा टिक्दै ४७ रन मात्रै बनाएको थियो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि रुबिना क्षेत्री बेलबासेले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न पाकिस्तानका अनाम अमिन, आना मीर र सादिया युसुफले २/२ विकेट लिए ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्र सहभागि छन् ।
आयोजक थाइल्यान्ड र नेपालसँगै टेष्ट मान्यता प्राप्त राष्ट्रहरु भारत, पाकिस्तात, बंगलादेश र श्रीलंका भिडिरहेका छन् ।
राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्