रोल्पा, मंसिर १३ । संविधान संशोधनमार्फत् ५ नम्बर प्रदेशबाट रोल्पालाई छुट्याउन लागिएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिनका लागि जिल्ला बन्द आह्वान गरेका छन् ।
यसअघि युवा विद्यार्थी र महिलाको दिनदिनै विरोध प्रदर्शन र चक्काजाम गर्दै आएका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाइ सकेका छन् ।
सर्वसाधारणले आज गरेको आधा दिनको जिल्ला बन्दका कारण रोल्पामा चल्ने सम्पूर्ण सवारी साधन ठप्प भएका छन् भने बजार, होटल, विद्यालय र उद्योगधन्दा पनि ठप्प छन् ।
रोल्पालाई टुक्क्राउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपानेले जानकारी दिए ।
आन्दोलनकारीका माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले चेतावनी दिएको छ ।
यता, स्थानीय तह पुनर्संरचना आयोगमा पेश भएको प्रस्ताव तत्काल सच्चाउन माग गर्दै आज भैरहवामा प्रदर्शन भएको छ ।
रुपन्देहीका पडसरी, बगाहा, हाटी फर्साटिकर, वसन्तपुर, चिल्हिया र मैनहिया गाविसका सर्वसाधारणले भैरहवामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका स्थानीय नेता तथा कार्यकर्ता आ-आफ्नो पार्टीको झन्डासहित सहभागी भएका थिए ।
उनीहरुले भैरहवाको बुद्धचोकमा मानव साङ्लो बनाई दुई घण्टा चक्काजामसमेत गरेका थिए ।
प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुलाई शहरबाट अलग्गाएर गाउँतिरै धकल्न थालेको आरोप लगाएका छन् ।
सयौंको संख्यामा रहेका स्थानीयले स्थानीय संरचना तय गर्दा हचुवाका भरमा गरिएको आरोप लगाएका छन् ।
सिद्धार्थनगर नगरपालिकामा साविकका गाविसलाई नगाभिए कडा संघर्ष घोषणा गर्ने चेतावनी उनीहरुको छ ।









प्रतिक्रिया दिनुहोस्