Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कांग्रेस नेता पनि ५ नम्बर प्रदेश टुक्र्याउन नहुने पक्षमा, बैठकमा के भयो ?


0
Shares

सरोज अधिकारी (इमेज)
काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले सरकारले तयार पारेको संविधान संशोधनको प्रस्तावबारे पार्टी नेताहरुलाई जानकारी दिएको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा वरिष्ठ नेताहरुको बैठकमा शीर्ष नेताहरुले संविधान संशोधनको प्रस्तावबारे जानकारी दिएका हुन् ।

सरकारले नवलपरासीदेखि बर्दियासम्मको तल्लो भू–भागलाई ५ नम्बर प्रदेशमा राख्ने प्रस्ताव गरेको जानकारी शीर्ष नेताहरुले दिए ।

त्यसैगरी, सीमांकनसम्बन्धी अरु विवाद मिलाउन अधिकारसम्पन्न आयोग गठन गर्ने, नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई पहिलेको नागरिकता परित्यागको प्रक्रिया सुरु गरेपछि वैवाहिक अंगीकृत नागरिकता दिने सरकारी प्रस्तावमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय सभामामा प्रत्येक प्रदेशबाट तीनदेखि पाँचजनासम्म प्रतिनिधित्व गराउने र बाँकी सिटमा जनसंख्याका आधारमा प्रतिनिधित्व गराउने व्यवस्थासमेत सरकारले तयार पारेको संशोधन प्रस्तावमा उल्लेख छ ।

त्यसैगरी, भाषा आयोगले दिएको प्रतिवेदनलाई आधार मानेर भाषासम्बन्धी विवादको टुंगो लगाउने प्रस्ताव सरकारले ल्याएको र सोही प्रस्ताव बैठकमा जानकारी दिइएको उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

नेता डा. रामशरण महतले भने पार्टीका बहुसंख्यक नेताहरु ५ नम्बर प्रदेश टुक्र्याउन नहुने पक्षमा रहेको जानकारी दिए ।

मधेसी मोर्चासँग थप छलफल गरेरमात्रै संविधान संशोधन प्रस्तावमा निर्णय गर्ने सहमति भएको पनि महतले जानकारी दिए ।

बैठकले सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमाथि अरु दलहरुसँग पनि थप छलफल गर्ने निर्णय गरेको छ ।

Skip This