
नयाँ दिल्ली, चैत ११ । भारतमा लोकसभा निर्वाचनको सरगर्मी बढेको छ । राजनीतिक दलहरु उम्मेदवार छनोटदेखि लिएर चुनावी मुद्दा तयारीमा जुटेका छन् ।
भारतीय जनता पार्टीको नेतृत्वमा रहेको सरकार आफ्नो साख जोगाउने अभियानमा जुटिरहँदा मुख्य विपक्षी दल कांग्रेस आइसहित विपक्षी दलहरु सत्तामा पुनरागमनका लागि जोडतोडले प्रयास गरिरहेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई ‘चौकीदार’ का रुपमा चुनाव अभियानमा उभ्याएका छन् । उनले कांग्रेस आइ नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचार गरेको, विकास निर्माणमा ध्यान नदिएको, जनताको जीवनस्तर लामो समयसम्म पनि उकास्न नसकेको तर्क गर्दै आफूलाई देश र जनताको ‘चौकीदार’ बताउँदै आएका छन् ।
मोदीले एक भिडियो सार्वजनिक गर्दै भारतीय जनतासमक्ष भनेका छन्, ‘तपाईहरुको यो चौकीदार राष्ट्रको सेवामा बलियो भएर उभिएको छ, तर म एक्लै छैन । भ्रष्टाचार, कुरिति र सामाजिक विकृतिसँग लडिरहेको प्रत्ष्येक व्यक्ति चौकीदार हो ।’
उनले आफूलाई यस्तो ‘चौकीदार’ बताउँदै आएका छन् जसले भ्रष्टाचार गर्दैन र अरुलाई पनि भ्रष्टाचार गर्न दिँदैन ।
मोदीकै अभियानलाई उनकै नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरु तथा भारतीय जनता पार्टीका कयौं नेताले पछ्याएका छन् । मोदीले आफ्नो आधिकारिक ट्वीटरमा आफ्नै नामको अगाडि ‘चौकीदार’ थपेका छन् । भारतीय जनता पार्टीका कयौं नेताले पनि ट्वीटरमा आफ्नो नामको अगाडि ‘चौकीदार’ जोडेका छन् ।
विपक्षी कांग्रेसले भने ‘चौकीदार नै चोर’ बनेको आरोप लगाउन थालेको छ । आर्थिक अपचलनमा संलग्नहरुलाई विदेश भगाएको, भारतीय वायु सेनाका लागि लडाकु विमान खरिदका क्रममा अनियमितता गरेकोजस्ता आरोप लगाउँदै विपक्षी दलहरुले मोदी नेतृत्वको सरकारलाई घेरेका छन् ।
अघिल्लो निर्वाचनमा ‘चियावाला’ छवि बनाएर सामान्य वर्गका नागरिकको विश्वास जितेका मोदीले दोस्रो कार्यकालका लागि चुनावी अभियानमा होमिँदा सामान्य वर्गकै नागरिकको रोजाइमा पर्ने पेशा ‘चौकीदार’लाई नारा बनाएका छन् । उनको यो नाराले कस्तो परिणाम दिने हो ? त्यो भने प्रष्ट भइसकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्