काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले संघीयताले देश विखण्डनको खतरा बढेको भन्दै जनमत संग्रहबाट संघीयता लगायतका विषयको टुंगो लगाउन माग गरेका छन् ।
नेपाली कांग्रेस, सनातन हिन्दु राष्ट्र स्थापना महाअभियान केन्द्रीय समन्वय समितिले बुधबार राजधानीमा गरेको कार्यक्रममा खड्काले संघीयतामा जानैपर्ने भए नेपालका तीन प्रमुख नदी कोशी, गण्डकी र कर्णालीलाई आधार मानेर सोही आसपासका क्षेत्रलाई समेटी तीन प्रदेश वा पाँच विकास क्षेत्रलाई प्रदेश मानेर जान सकिन्छ भने ।
धर्म निरपेक्षको आडमा नेपालका सनातन मौलिक धर्म र संस्कृतिमाथि आक्रमण र धर्म रुपान्तरण बढेको भन्दै उनले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने बताए ।
कार्यक्रममा कांग्रेसका अर्का नेता चिरञ्जीवी वाग्लेले नेपाललाई अखण्ड राख्न र यसको सार्वभौमिकता जोगाउन सनातन हिन्दु राष्ट्र नै घोषणा गर्नुपर्ने धारणा राखे ।
यस्तै पूर्व सभामुख तारानाथ रानाभाटले देश विखण्डनतर्फ गइरहेको जिकिर गर्दै राष्ट्रियता, धर्म र स्वाधिनता जोगाउन सबै सतर्क हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा हिन्दू राष्ट्र पक्षधर विभिन्न तह र तप्काका ब्यक्तित्वहरु, साधुसन्तहरु र सर्वसाधारणको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्