Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


प्यूठान र रोल्पाको संयुक्त प्रदर्शन, घेराउमा पर्ने भएपछि राति नै हिँडे अर्थमन्त्री


0
Shares

प्यूठान, मंसिर १६ । प्रदेश विभाजन सीमा संशोधनको विरुद्धमा सुरु भएको आन्दोलन प्यूठान र रोल्पामा थप जटिल बन्दै गएको छ । दुवै जिल्लाले आज बिहानदेखि प्रदर्शन सुरु गरेका छन् ।

दिउँसो दुवै जिल्लाको सिमाना चतुर्भुजमा हुने बृहत् प्रदर्शन अगाडि जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा प्रदर्शन सुरु गरिएको छ ।

प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मीलगायत यस क्षेत्रका पहाडी जिल्लालाई तराईसँग अलग बनाउँदै अव्यावहारिक कार्य गरेको भन्दै संसदमा दर्ता गरेको प्रदेश विभाजन प्रस्ताव तत्काल फिर्ता नलिँदासम्म आन्दोलन जारी रहने प्यूठान–रोल्पा सङ्घर्ष समितिका संयोजक मुक्तिप्रसाद शर्माले जानकारी दिए । दुवै जिल्लाले आज दिउँसो संयुक्त प्रदर्शनीपछि थप आन्दोलनको तयारी गर्ने बताएका छन् ।

जिल्लाका राजनीतिक दल एक ठाउँमा आएको भन्दै नेपाली काँग्रेसका जिल्ला सभापति अमरप्रसाद भण्डारीले सरकार पक्ष र प्रतिपक्ष दुवै दलले संयुक्तरुपमा संशोधनको विरोध गरेका बताए ।

रोल्पासँगै छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पासँग पनि समन्वय भइरहेको सङ्घर्ष समितिले जनाएको छ । भोलि ५ नं प्रदेशका जिल्ला नेता तथा सांसद्को बुटवलमा विशेष भेला राखिएको नेकपा माओवादी केन्द्रका नेता कृष्ण अधिकारी (प्रकाश)ले जानकारी दिए ।

अर्थमन्त्री महरालाई घेराबन्दीको प्रयास
पारिवारिक कार्यका कारण एक्कासि रोल्पा पुगेका उप–प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा दुवै जिल्लाको संयुक्त प्रदर्शनलाई सम्बोधन नगरी राजधानी फर्किएका छन् ।

रोल्पा र प्यूठानले मन्त्री महरालाई आज हुने प्रदर्शनलाई सम्बोधन गर्न आग्रह गरेपनि उनी राजधानी फर्किएका हुन् ।

राजधानी फर्कनका लागि रोल्पावाट प्यूठानको भिङ्गृ आएका मन्त्री महरालाई स्थानीयवासीले अवरोध गरेपनि होलेरीको बाटो हुँदै दाङ जाने प्रयास गरेका थिए ।

सो सडकमा पनि रोल्पाका स्थानीयवासीले अवरोध गरेपछि मन्त्री महरा बुधबार राति रोल्पा हुँदै सल्यानको कपुरकोटबाट दाङ हुँदै राजधानी गएको रोल्पाका पत्रकार दिनेश सुवेदीले जानकारी दिए । दुवै जिल्लाका स्थानीयवासीले मन्त्री महराले संविधान संशोधनका बारेमा हालसम्म नबोलेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । (रासस)