३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


नर्वेको तटीय इलाकामा पानीजहाजको इन्जिनमा समस्या, सयौंको उद्धार


0
Shares

ओस्लो, चैत १० । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । 

पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो ।

नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए ।

भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको थियो । उक्त जहाज नर्वेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ आउँदै थियो ।

मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्जिनमा समस्या आएको चालक दलका क्याप्टेनले सूचना पठाएका थिए । 

विषम मौसमी अवस्था आए पनि उद्धारकर्मीहरुले हेलिकप्टरको प्रयोग गर्ने निष्कर्षमा पुगेका थिए । प्रहरी प्रमुख टोर आन्द्रे फ्रान्कले भने, ‘दुर्घटनाको संघारमा पुगेको जहाजमै यात्रुलाई छाड्नुभन्दा जसरी पनि उनीहरुलाई जमिनमा ल्याउनु बुद्धिमानी सम्झेर हामीले निकै चुनौतीबीच उद्धारकार्य थालेका हौं ।’

आइतबार बिहानसम्म पानीजहाजका चारमध्ये तीनवटा इन्जिन पुनः चलाउन सफल भएका थिए । 

उद्धार गरिएकामध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ । उद्धारका लागि पाँचवटा हेलिकप्टर र अरु जहाज प्रयोग गरिएका थिए । (रासस/एएफपी)