काठमाडौं, चैत १० । राष्ट्रिय योजना आयोगले अघि सारेको दीर्घकालीन योजना स्पष्ट नभएको आरोप सांसदहरुले लगाएका छन् ।
संसदको अर्थ समितिमा गरिएको छलफलमा सांसदहरुले निरन्तरको विकासले मात्रै दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्न नसकिने बताए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोगले अघि सारेको महत्वाकांक्षी लक्ष्य भेट्टाउन विकासको गति तीब्र बनाउनुपर्ने बताए । उच्च अंकको आर्थिक बृद्धिका लागि औद्योगिक पूँजी निर्माण पहिलो शर्त हुने उनको भनाइ छ ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आयोगले अघि सारेको दीर्घकालीन योजनामा समाजवादको व्यवहारिक बुझाइ स्पष्ट नभएको आरोप लगाए । मुलुकले अहिले नै समाजवादको स्वरुप धारण गर्न नसक्ने भएकोले उत्पादकत्व वृद्धि त्यसको प्रस्थान विन्दु हुनुपर्ने उनको भनाइ छ ।
अर्का पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक रहेको भन्दै प्राथमिकतालाई परिणाममुखी बनाउनेगरी अघि बढ्न आयोगलाई सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्