Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


यथास्थितिमा संशोधन प्रस्ताव पास गर्न खोजे आन्दोलन गर्ने महतोको चेतावनी


0
Shares

                                                                                   फाइल फोटो
विराटनगर, मंसिर १७ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आपूmहरु ठगिएको बताएका छन् ।

सो पार्टीद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन प्रस्तावबाट मधेसको मागको पूर्णरुपमा सम्बोधन नभएकाले यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष महतोले मधेसी, थारु, आदिवासी र जनजातिलाई शासनमा हिस्सेदारीका लागि संघीयता चाहिएको प्रसंग उल्लेख गर्दै संघीयताविरोधी मानसिकताबाट ग्रस्त केही दल र व्यक्तिले वर्षौंदेखि शोषित–पीडित समुदायलाई अधिकार दिन नखोजेको आरोप लगाए ।

संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि सरकार सकारात्मक हुनुपर्ने उल्लेख गर्दै उनले यथास्थितिमा प्रस्ताव पास गर्न खोजियो भने सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

पत्रकारद्वारा राखिएको जिज्ञसामा अध्यक्ष महतोले ‘५ नम्बर प्रदेशबाट मधेसको भू–भागलाई छुटयाउन हुने तर झापा, मोरङ, सुनसरीलाई छुट्याउन नहुने, यो कस्तो दोहोरो मानसिकता हो ?’ भनि प्रश्न गरे ।

उनले राष्ट्रियसभामा एक प्रदेशबाट तीनओटा सदस्य निर्धारण गरेको र बाँकी सदस्य पदमा स्थानीय निर्वाचित पदाधिकारीको आधारमा गर्दा मधेसको प्रतिनिधित्व घट्ने भएकाले सो मान्य नहुने स्पस्ट पारे ।

अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउनुपर्ने मधेसी जनता र मधेसी मोर्चाको माग नरहेको चर्चा गर्दै ‘उनले नागरिक–नागरिकबीच विभेद् गर्नु हुँदैन’–भने ।

अध्यक्ष महतोले प्रमुख राजनीतिक दल गैरजिम्मेवार बनेको आरोप लगाउँदै सीमांकनका र भाषिक समस्या विगतमा आयोगले बुझाएको प्रतिवेदनका आधारमा गर्नुपर्नेमा जोड दिए । रासस

Skip This