काठमाडौं, चैत १० । नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगाइएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । ताला लगाएर धर्नामा बसेका सेयर लगानीकर्तालाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो ।
बोर्डको मूख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर हटाएको हो ।
उनीहरुले पूँजी बजार सुधार र विस्तारका लागि आफूहरुले राखेका ३२ बुँदे मागको कुनै सुनुवाइ नभएको भन्दै धर्ना दिएका थिए ।
धर्नाकारी लगानीकर्तालाई लखेटेपछि प्रहरीले कार्यालयमा लगाएको ताला तोडेर खुलाएको थियो ।
लगानीकर्ताले ताला लगाउत कार्यालय खुल्नुअघि नै पुगेका थिए । धर्नाकारीले ताला लगाएपछि बोर्डका ३० भन्दा बढी कर्मचारीले भित्र प्रवेश पाएका थिएनन् ।
शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको हो ।
बोर्डको नेतृत्व पूँजी बजारको सुधार र विस्तारप्रति गैरजिम्मेवार भएको आरोप दबाब समूहको छ ।
यसअघि दबाब समूहले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको थियो ।









प्रतिक्रिया दिनुहोस्