काठमाडौं, मंसिर १९ । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता नेता टोपबहादुर रायमाझीले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रायमाझीले संविधान संशोधन प्रस्तावले देशलाई विखण्डनमा लैजाने, द्वन्द्व बढाउने, गतिहिनतातिर लैजाने र दलहरूको बीचमा अन्तरविरोध बढाउने उल्लेख गर्दै संशोधन प्रस्ताव संसदबाट पारित हुने कुनै पनि सम्भावना नरहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिएर देशमा निम्तिन लागेको मुठभेडलाई रोक्नुको विकल्प नरहेको उनले बताए ।
रायमाझीले भने, ‘राष्ट्रिय सहमति नगरि सरकारले जुन किसिमले संविधान संशोधन प्रस्ताव ल्यायो, यो प्रक्रिया गलत थियोे, मैले प्रधानमन्त्रीलाई भनेको थिएँ– राष्ट्रिय सहमति हुन्छ भने यो प्रस्ताव अघि सारौं नभए यसले हामीलाई असफल घोषित गरिदिन्छ ।’
उनले अघि थपे, ‘अर्को विडम्बना, आन्दोलन जुन ठाउँमा भएको थियो त्यो ठाउँको लागि संशोधन नल्याएर कुनै पनि विवाद नभएको अर्थात प्रदेश नं. ५ लाई संशोधनको मुल मुद्दा बनाएर प्रस्तावलाई जोड्दा यो अस्थिर स्थिति आईलागेको हो ।’
संविधान संशोधन प्रस्ताव पारित हुने कुनै सम्भावना नरहेको बताउदै उनले भने, ‘यो प्रस्ताव पारित गराउन दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु, माओवादी र कांग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नं प्रदेशका कुनै पनि जनप्रतिनिधिले प्रस्तावको पक्षमा मतदान गर्दैनन् ।’
प्रदेश नं ५ मा हाल चलिरहेको आन्दोलन इतिहासमै पहिलो र नयाँ रुपको आन्दोलन भएको भन्दै उनले यो आन्दोलनलाई कुनै राजनीतिक दल र विषेश नेताको स्वार्थसँग नजोड्न सबैलाई आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्