Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


संशोधन प्रस्ताव दर्ताले उठाएको प्रश्न: मूठभेड निम्तिने त होइन ?(भिडियो)


0
Shares

-सरोज अधिकारी, ईमेज

काठमाडौं, मंसिर २० । संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको एक हप्ता बित्न लाग्यो । दलहरुबीच सहमति बन्ने र प्रक्रिया अघि बढ्ने सम्भावना त देखिएको छैन नै बरु यसैका कारण मुलुकमा मूठभेड निम्तने हो कि भन्ने डर पसेको छ ।

विमती यसरी चुलिँदै छ कि संशोधन विधेयक मात्र होइन अख्तियार प्रमुखविरुद्धको महाअभियोगदेखि निर्वाचन कानूनहरुको निरुपण गर्ने निकाय संसदका कामकारबाही नै अलपत्र परेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेसहितको सहमतिमा संशोधन प्रस्ताव ल्याउने सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रको प्रयास निरर्थक भएपछि सरकारले गत मंगलबार प्रस्ताव संसदमा दर्ता गरायो ।

प्रतिपक्षी दललाई पछि छाडेरै प्रस्ताव दर्ता गर्नुमा मधेशी मोर्चाले समर्थन गरिहाल्छ भन्ने आत्मविश्वास सत्ता घटकका नेतामा थियो ।

तर प्रधानमन्त्री र कांग्रेसलाई त्यतिबेला झट्का लाग्यो मधेसी दलका नेताले प्रस्तावमा समर्थन गर्न नसक्ने बताए ।

जसका कारण प्रस्ताव ‘घरको न घाटको’ बन्ने हो कि भन्ने त्रास कांग्रेस माओवादी नेतामा देखिएको छ । एमाले त घनघोर विरोधमा उत्रिएकै छ, त्यही घानमा मिसिएका छन् आफ्नै दलका सांसद पनि ।

मधेसी मोर्चाले समर्थन गरिदिए मात्रै पनि राहत हुने आशमा रहेका सत्तारुढ नेतालाई प्रस्ताव संसदमा प्रवेश गर्नै नदिने एमाले अडानले अफ्ठ्यारो बनाएको छ ।

दर्ता गरिएको प्रस्ताव छलफलका लागि पाँच दिनपछि परिपक्व हुने भएपनि परिस्थिति त्यता उन्मुख देखिँदैन । यस्तोमा के गर्छन् त सत्तारुढ दलका नेताहरु ।

दुई मत पुर्‍याएर पारित गर्न यसैपनि तारेभीर बनेको यस प्रस्ताव संसदमा सहजै अघि बढ्न सक्ने अवस्था देखिन्न ।

दुई नम्बर प्रदेशमा देखिएको असन्तोषलाई पाँच नम्बर फोरेर समाधान नदिने बरु यो मुलुकनै विखण्डन गर्ने दीर्घकालीन षड्यन्त्रबाट निर्देशित रहेको दावी एमालेका नेताहरुले लगातार गरिरहेका छन् ।

एमाले नेताहरुको उक्त आशंकामा आम जनताले पनि विश्वास गरेझै देखिन्छ । सामाजिक सञ्जालहरुमा संशोधन प्रस्तावको विरोधमा जबरजस्त प्रतिक्रियाहरु मात्र आएका छैनन् ।

प्रस्तावकर्ता दल कांग्रेस, माओवादी र प्रधानमन्त्रीको आलोचना चुलिएको छ । स्वयं सत्तारुढ दलका पाँच नम्बर प्रदेशका नेताहरु नै प्रस्ताव फिर्ता लिन सरकारलाई सुझाउँछन् ।

एकातिर आगामी वर्षको माघ ७ भित्र तीन वटै तहको निर्वाचन नगरे संविधान कार्यान्वयनको अवस्था आउँदैन र संविधान निष्क्रिय हुने खतरा छ । यसले अहिलेसम्मको उपलब्धि नै स्वाहा हुने डर पनि छँदैछ ।

निर्वाचन नगराई अस्थिरता मच्चाएर निहीत स्वार्थको रोटी सेक्नेहरु पनि उत्तिकै चलमलाईरहेको आशंका यसबीचमा निकै कोणबाट भइरहेको छ ।

यी सबै आशंकालाई जवाफ दिने र संविधानका उपलब्धि गुम्न नदिने हो भने तमाम विमतीलाई थाँती राखेर प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी एक ठाउँमा उभिउँदै मधेशसहितका अरु दललाई पनि साथ लिएर हिड्न सक्नुपर्दछ ।

अन्यथा एकले अर्कोको सेखी झार्ने खेलमा सबै उपलब्धि शून्यमा विलिन हुन बेर लाग्दैन । यसमा बढी खोजिरहेका मधेशी नेताहरुले पनि भएकै गुम्ने षड्यन्त्र हुनसक्ने तर्फ ध्यान दिउन् र देश र जनताको हितमा उभिउन् ।

मेरो गोरुको बाह्रै टक्काको खेलमै रमाइरहने हो भने हिमाल, पहाड तराईबीचको भावनाको सेतू टुट्ने छ र जित्ने छ नेपालमा अस्थिरता मच्चाएर स्वार्थ सिद्धी गर्ने तत्व मात्र । सबैमा हेक्का रहोस् ।

 

Skip This