Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


४५६ मेगावाटको माथिल्लो तामाकोसी ‘मंसिरदेखि सन्चालनमा आउने’


0
Shares

रमेश लम्साल (रासस)

दोलखा, चैत ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शनिबार राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका थिए ।

मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाकाबारेमा निर्माणस्थलमै पुगेर जानकारी लिए ।

उनले करिब तीन घन्टा आयोजना निर्माणस्थलमा रहेर निकै चासोपूर्वक निर्माणकार्यको अवलोकन गरेका थिए ।

निरीक्षणकाक्रममा मन्त्री पुनले आयोजनाको अनुगमन, निरीक्षण, समस्याको समाधान र सहजीकरणका लागि आफू प्राधिकरण तथा आयोजनाका उच्चपदस्थ अधिकारीसहित निर्माणस्थलमै आएको बताए ।

उनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग आयोजनाका प्रगतिकाबारेमा जानकारी लिएका थिए ।

मन्त्री पुनले तोकिएको समयभित्रै राष्ट्रिय गौरवकारुपमा रहेको तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै त्यसमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

आयोजनाको निरीक्षणपछि सन्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय गौरवको यस आयोजना तोकिएको समय तालिकाभित्रै सम्पन्न हुने बताए ।

उनले आगामी मंसिरभित्र आयोजना पूर्णरुपमा सन्चालनमा आउने विश्वास व्यक्त गरे ।

‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ । आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि मैले पूरै ध्यानकेन्द्रित गरेको छु । म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु’–मन्त्री पुनले भने ।

‘नेपाली श्रम, सीप र पुँजी परिचालन गरी ठूला आयोजना सम्पन्न गर्न सकिँदैन’ भन्ने सोच विगतमा रहेको भन्दै उनले यसबाट नेपालीले ठूला आयोजना आफैं बनाउन सक्छन् भन्ने पुष्टि भएको बताए ।

मन्त्री पुनले तामाकोसी जलविद्युत् आयोजना नेपालका लागि नमुनायोग्य र महत्वपूर्ण भएको बताए ।

उनले भने–‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो । हामीले टेक्सम्याक र एन्ड्रिजको बीचमा समझदारी बनाइदिएका छौं । अहिले कामअघि बढिरहेको छ । त्यसैले पनि आगामी मंसिरसम्म सबै काम सम्पन्न हुन्छ ।’

आफूले आयोजना प्रमुख र कार्यकारी निर्देशकलाई सँगै राखेर सुरुदेखि नै तालिकाअनुसार काम गर्न प्रेरित गरेको मन्त्री पुनको भनाइ थियो ।

यसअघि, आयोजनामा समस्या देखिएपछि मन्त्री पुनले ऊर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेर तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए ।

छलफलकाक्रममा उनले आयोजनाको काम अघि नबढे ठेक्कासमेत तोड्ने चेतावनीसमेत दिएका थिए ।

निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीसहित आयोजनास्थल पुगेका हुन् ।

यसअघि, गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत आयोजनाको निरीक्षण गरेका थिए ।

भौतिक प्रगति ९८ प्रतिशत

आयोजना निर्माणकाक्रममा देखिएका समस्या सरकारले समयमै हल गरेपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक परिवर्तन देखिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको माथिल्लो तामाकोसीको भौतिक प्रगति करिब ९८ प्रतिशत पुगेको छ ।

आयोजनाको सुरुङ निर्माणकाक्रममा निर्माण कम्पनीमा उल्झन देखिएपछि केही दिनअघि ऊर्जामन्त्री पुनले नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजनासहित प्रस्तुत् हुन निर्देशन दिएका थिए ।

सोही निर्देशनानुसार आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरिरहेका छन् ।

हाल ठाडो सुरुङमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ ।

आगामी मंसिरमा आयोजना सम्पन्न गर्नेगरी निर्माणकार्यलाई तीव्रता दिइएको छ ।

‘भर्टिकल पेनस्टक सार्प’मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत् व्यवस्थापन गरिएको छ ।