Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


बागलुङ–पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगेपुलको शिलान्यास


0
Shares

डम्मर बुढामगर (इमेज)

बागलुङ, चैत ९ । बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगेपुलको शिलान्यास गरिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार सो पुलको शिलान्यास गरेका हुन् ।

चीनबाट प्रविधि ल्याएर पुल निर्माण

उनले पुल निर्माणले स्थानीयको दैनिकी सहज हुने भन्दै यति लामो पुल बनाउने प्रविधि नेपालमा नभएकाले चीनबाट प्रविधि ल्याएर पुल निर्माण गरिने जानकारी दिए ।

कालीगन्डकी नदीमाथि निर्माण हुने ५६७ मिटर लामो पुल १६० मिटर उचाइमा बन्न लागेको हो ।

नेपालमा ३६० मिटरभन्दा लामा झोलुंगेपुल नबनेकाले यसखालको पुल पहिलोपटक बन्न लागेको सस्पेन्सन पुल विभागका इन्जिनियर टोपबहादुर बानियाँले जानकारी दिए ।

७ करोड ९७ लाख लागत

सस्पेन्सन पुल विभागमार्फत् भएको बोलपत्रअनुसार कामको जिम्मेवारी थानी रबि एलटी र हिमशिखर जेभी निर्माण कम्पनीले संयुक्तरूपमा पाएपछि काम अगाडि बढेको बागलुङ नगरपालिकाले जनाएको छ ।

७ करोड ९७ लाख रूपैयाँ लागतमा निर्माण हुने भनिएको पुल वि.सं. २०७७ साल असार मसान्तसम्ममा सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

बागलुङ र पर्वत जोड्ने गरी बन्न लागेको यस किसिमको लामो पुल दक्षिण एसियामा नै पहिलो पुल भएको इन्जिनियर बानियाँले बताए ।

चीनबाट लठ्ठा तान्ने बिइन्च मेसिन खरिदको प्रक्रिया अर्थ मन्त्रालयमार्फत् अगाडि बढाइएको बताइएको छ ।

बागलुङको बागलुङ नगरपालिका–१, सहिदपार्कदेखि पर्वतको कुश्मा नगरपालिका–१, पाङ, अदुवाबारी जोड्ने गरी पुल निर्माण गरिँदैछ ।

२०५९ सालदेखि नै प्रयास

२०५९ सालदेखि नै बागलुङ र पर्वतको पाङ जोड्ने पुल निर्माणका लागि पटक–पटक प्रयास भएपनि पुल लामो दूरीको हुने भएकाले लठ्ठा तान्ने प्रविधि नेपालमै नभएको भनेर रोकिँदै आएको थियो ।

यो पुल निर्माणपश्चात् बागलुङबाट पर्वतको पाङसम्मको पैदल दूरी ३० मिनेट कम हुने जनाइएको छ ।