Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


संविधान संशोधन प्रस्ताव म प्रधानमन्त्री हुँदासम्म फिर्ता हुँदैन : दाहाल


0
Shares

दाङ, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका छन् ।

दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई बुधबार देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने र संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्ने बताए ।

एमालेले तयार पारेको संशोधन प्रस्तावमा आफूले थोरै थपघट गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उनले एमालेले प्रस्तावको गलत प्रचार गरेको बताए ।

उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत् दललाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरे ।

प्रधानमन्त्री दाहालले भने–‘अहिले आन्दोलनरत् एमालेले पनि गल्ती महसुस गर्नेछ । सरकारले हिमाल पहाड–तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखन्डन पो गर्न खोजेका रहेछौं भनेर एमालेले केही समयपछि गल्ती महसुस गर्नेछ ।’

उनले दाङको विकासमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

माओवादीले दाङलाई केन्द्रमा राखेर विगतका दिनदेखि नै आफ्ना गतिविधि बढाएको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले दाङको विकासका लागि लमही–कोइलाबास सडकको स्तरोन्नति आवश्यक रहेको बताए ।

भारत भ्रमणकोबेला आफूले नेपालको हुलाकीमार्ग निर्माणका लागि सहयोग सम्झौता गरेको भन्दै उनले आफ्नै शासनकालमा लमही–कोइलाबास सडकको स्तरोन्नति हुने विश्वास दिलाए । रासस