Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


अनुदान रकम वितरण नहुँदा भूकम्पपीडितको बेहाल


0
Shares

भक्तपुर, मंसिर २३ । अनुदान सम्झौता शुरु भएको एक महिना बित्दा पनि अनुदान रकम वितरण नहुँदा भक्तपुरका भूकम्पपीडितले घर बनाउन पाएका छैनन् ।

पहिलो किस्ता रकम वितरणका लागि भक्तपुरका भूकम्प प्रभावितसँग गत कात्तिक २४ गतेदेखि अनुदान सम्झौता गर्न थालिएको थियो । सम्झौता भएकालाई पाँच दिनपछि नै अनुदान दिने भनिए पनि अझै वितरण नभएपछि लाभग्राही घर बनाउन अन्यौलमा परेका हुन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाई कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरण गर्न भक्तपुरमा हालसम्म १७ हजार लाभग्राहीसँग अनुदान सम्झौता गरिएको स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइरालाले जानकारी दिए । जिल्लामा लाभग्राहीको नामावली छुटेको र जग्गामा समस्या आएको भन्दै ६ हजारभन्दा बढीले गुनासो दर्ता गराएका छन् ।

भक्तपुरमा भूकम्पपीडितको संख्या ३३ हजार ६ सय ९६ रहेको तथ्यांक भए पनि २६ हजार १६ लाभग्राही परिवारको विवरण पुनर्निर्माण प्राधिकरणले जिल्लामा पठाएको छ ।

उता, रामेछापमा सेवा सुविधा नपाएको भन्दै भूकम्प पुनर्निर्माणका प्राविधिकहरु आन्दोलित बनेका छन् । जिल्लामा झण्डै २ सय प्राविधिक गाउँमा सञ्चालन भएको पुनर्निर्माणको कामकाज ठप्प पार्दै जिल्ला सदरमुकाममा बसेका हुन् ।

करार सेवामा नियुक्त प्राविधिकले सरकारका अरु कर्मचारीले पाउनेसरह मात्र तलब पाएको भन्दै विरोधमा उत्रिएका हुन् । फिल्ड भत्ता, विमा, सञ्चार, कार्यालयको व्यवस्थापन र यातायात लगायतको सुविधा दिइनुपर्ने माग गर्दै उनीहरु गत असोजदेखि आन्दोलित बनेका हुन् ।