भक्तपुर, मंसिर २४ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक परिमार्जन गरेर सहमति खोज्न सरकार तयार रहेको बताएका छन् ।
सल्लाघारीमा शुक्रबारदेखि सुरु भएको ६ दिने अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री निधिले सहमतिका लागि सरकार संशोधन विधेयकलाई परिमार्जन गर्न तयार रहेको स्पस्ट गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकैबेला संविधान संशोधनका लागि छलफल र सम्झौता भएको जिकिर गर्दै गृहमन्त्री निधिले आन्दोलन छाडेर समस्या समाधानका लागि एमालेलाई संवादमा आउन आग्रह गरे ।
संसद अवरोधले संवैधानिक र लोकतान्त्रिक प्रक्रिया नै अवरुद्घ हुने भएकाले आन्दोलनको सट्टा समाधानको बाटो खोज्न आग्रह गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनु आवश्यक रहेकामा जोड दिए ।
संविधान संशोधनको विषयलाई लिएर आन्दोलनमा जानु र पक्ष–विपक्षमा विभाजित हुनुभन्दा वार्ताबाटै निकासका लागि अधिकतमभन्दा अधिकतम सहमति खोज्नुपर्ने उनको भनाइ थियो ।
संविधान घोषणा भएदेखि नै संविधान संशोधनको कुरा उठेको बताउँदै उनले दल मिलेर संविधान कार्यान्वयनमा जानुको विकल्प नरहेकामा जोड दिए ।
मन्त्री निधिले भने–‘संविधान कार्यान्वयनका लागि दलबीच छिट्टै सहमति जुट्ने छ, संविधान कार्यान्वयनको वातावरण तयार पार्नकै लागि संसदमा संशोधन विधेयक दर्ता भएको हो ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले लगानीको वातावरणलाई नबिगारी उद्योग सन्चालनमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य संघ भक्तपुरका पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद ताम्राकारले भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी जग्गा अन्तर्राष्ट्रिय मेलास्थलका लागि संघलाई दिन सरकारसँग माग गरे ।
त्यस अवसरमा प्रजिअ तेजप्रसाद पौडेल, संयोजक राजुमृगेन्द्र जोशी, संघका अध्यक्ष केपी अवाल, प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापतिलगायतले मेलाले भक्तपुरको विकासमा टेवा पुर्याउने बताए । रासस





प्रतिक्रिया दिनुहोस्