Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


गुल्मी बन्दको ११औं दिनमा लाठीजुलुस, अर्घाखाँची फेरि बन्द


0
Shares

गुल्मी, अर्घाखाँची, मंसिर २५ । प्रदेश नम्बर–५ बाट पहाडी जिल्लालाई अलग गराउन सरकारले व्यवस्थापिका–संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा शनिबार ११औं दिन पनि विभिन्न जिल्लामा प्रदर्शन भएको छ ।

शनिबार गुल्मीमा ११औं दिन पनि बन्द कायमै रह्यो भने प्रदर्शनकारीले सदरमुकाम तम्घासमा लाठीजुलुस प्रदर्शन गरे ।

संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दको कार्यक्रम यथावत् राख्दै धर्ना र प्रदर्शन अझ सशक्त बनाउँदै लैजाने गुल्मीको संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ ।

अर्घाखाँची फेरि बन्द
सरकारले ५ नम्बर प्रदेशलाई विखन्डन गरेको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको संयुक्त संघर्ष समिति अर्घाखाँचीले शनिबारदेखि फेरि जिल्ला बन्दको आह्वान गरेको छ ।

समितिले पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारले मंसिर १४ गते राति संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि १५ गतेदेखि २० गतेसम्म जिल्ला बन्द गरिएको थियो ।

सरकारलाई ४ दिने अल्टिमेटम दिँदै २१ देखि २४ गतेसम्म बन्दका कार्यक्रम फिर्ता गरिएपनि विरोधका अरु कार्यक्रम यथावत राखिएको थियो ।

सरकारले माग सुनुवाइ नगरेको भन्दै संघर्ष समितिले फेरि बन्दको आह्वान गरेको हो ।