Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


देशलाई तलमाथि हुन दिँदैनौं, राजनेता भएर बस्न सक्दिनँ : ओली


0
Shares

                                                                                    फाइल फोटो
काठमाडौं, मंसिर २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताएका छन् ।

अनेरास्ववियुले आइतबार राजधानीमा गरेको ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा उनले निर्वाचन तयारी नगरेर सरकारले बिनाकारण संशोधनको कुरा उठाएको बताए ।

उनले संविधान संशोधन अन्यका लागि नभइ निर्वाचनका लागि गर्न सकिने धारणा राखे ।

‘कुन धाराले निर्वाचन गर्न दिएन । त्यो धारा संशोधन गरेर निर्वाचन गर्न बाधा फुकाऔं–उनले भने–‘तर देशलाई आँच आउनेखालको कुरालाई संशोधन गर्न सकिन्न ।’

उनले राष्ट्रिय स्वाधीनता, एकता, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा तलमाथि हुन नदिने भन्दै आवश्यक परे संघर्ष गर्न पनि तयार रहेको धारणा राखे ।

पूर्वप्रधानमन्त्री ओलीले पुर्खाले बनाएको देशलाई आफ्नो पालामा कसैले पनि बिगार्ने नसोच्न आग्रह गरे ।

‘अहिलेसम्म पुर्खाले देशलाई जोगाएका छन्’–उनले भने–‘यो संसद हामीले बनाएको हुनाले देशलाई तलमाथि हुन दिँदैनौं ।’

उनले आफू देश र जनताका लागि लडिरहनुपर्ने भएकाले राजनेता भएर बस्न नसक्ने बताए ।

‘देशमा स्वाभीमान र थिचोमिचोकाविरुद्ध विभिन्न क्रियाकलाप भइरहन्छ’–उनले भने–‘यस्तोबेला चुप लागेर म राजनेता भएर बस्न सक्दिनँ । त्यसैले राजनेता हुने मलाई मन छैन ।’

उनले अहिलेको ३३ प्रतिशत महिलाको आरक्षण पुरानो भइसकेको भन्दै आरक्षणलाई बढाउनुपर्नेमा जोड दिए ।

उनले संविधानमा महिला अधिकार कुरा उल्लेख गरिएपनि महिलालाई सशक्तिकरण, नेतृत्वदायी र उत्तरदायी भूमिकामा सहभागिता बढाउनुपर्ने धारणा राखे ।

एमाले केन्द्रीय सदस्य सावित्री भुसालले पार्टीले महिला हिंसाविरुद्ध आचारसहिंता बनाएको उल्लेख गदै सबै महिला हिंसा अन्त्य गर्न एकजुट हुनुपर्ने बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले महिला हिंसा अन्त्य महिला र पुरुषले मिलेर गर्नुपर्ने बताइन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमृता थापामगर, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, अनेरास्ववियुकी अध्यक्ष नवीना लामालगायतले महिला हिंसा अन्त्य गर्न सबै राजनीतिक दलले एउटै एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । रासस