११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


अस्पताल र मृतकका परिवारबीच पाँचबुँदे सहमति (अपडेट)


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, चैत ८ । कैलालीमा सुत्केरी महिलाको मृत्युपछि आन्दोलनरत् आफन्त र अस्पताल प्रशासनबीच शुक्रबार पाँचबुँदे सहमति भएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, उपमेयर सुशीला मिश्र भट्ट, स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि डा. चेतराज जोशी, दयाकृष्ण पन्त, अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. हेमराज पाण्डेय र मृतक महिलाका पति जयबहादुर थापाबीच सेती अञ्चल अस्पतालमा भएको छलफलपछि सहमति जुटेको हो ।

सहमतिअनुसार घटनाका सम्बन्धमा छानबिन समिति गठन गरिनेछ । समितिले निकालेको निष्कर्षअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सबै पक्ष सहमत भएका छन् ।

छानबिन समिति गठनका लागि वरिष्ठ स्त्रीरोग विशेषज्ञ पठाइदिन सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस्तै, नवजात शिशुको उपचार आवश्यकतानुसार सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयले गर्नेछ ।

मृतकका नवजात शिशुको २४ वर्षसम्म सेती अञ्चल अस्पतालले निःशुल्क उपचार गर्ने सहमति भएको छ ।

यसैगरी, उक्त शिशुको उपचार ‘फास्टट्रयाक’बाट गरिने भएको छ । शिशुको उपचार झन्झटिलो नहोस् भनेर परिचयपत्रको व्यवस्था गरिनेछ ।

साथै, मृतकका सन्तानको भरणपोषणका लागि राहत प्रदान गर्न सामाजिक विकास मन्त्रालयमार्फत् प्रदेश मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने सहमति भएको छ ।