काठमाडौं, मंसिर २७ । संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउने राजनीतिक दलनिकट युवा तथा विद्यार्थी संगठनले सोमबार राजधानीमा विरोधसभा गरेका छन् ।
नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीनिकट युवा तथा विद्यार्थी संगठनका नेता तथा प्रतिनिधिले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नरहेको भन्दै माइतीघरमन्डलाबाट नयाँबानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन तथा सभा गरेका हुन् ।
युवा संघका अध्यक्ष राजीव पहारीले हिमाल, पहाड र तराईमा बसोबास गर्ने नागरिकलाई एकताबद्ध गरी प्रदेशको सीमांकन गर्नुपर्नेमा जोड दिँदै मिलेर बसेका नागरिकबीच भावनात्मकरुपमा अलग हुने गरी संविधानमा संशोधन गर्न नहुने बताए ।
राष्ट्रिय जनमोर्चानिकट युवा संगठनका अध्यक्ष तिलक थापाले मुलुकमा विदेशीको चाहना र हस्तक्षेप बढाउन ल्याइएको संविधान संशोधन प्रस्तावको अहिले औचित्य नरहेको बताउँदै त्यस्तो प्रस्ताव अविलम्ब फिर्ता लिनुपर्नेमा जोड दिए ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले देशमा स्थानीयलगायत तीनओटा निर्वाचन गरी संविधान कार्यान्वयन गर्नुपर्नेबेलामा ल्याइएको सो प्रस्तावले निर्वाचन हुने वातावरणमा अवरोध पुर्याएको र मुलुकमा राजनीतिक अन्यौलता थपेको विचार व्यक्त गरे ।
सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि सो प्रक्रियामा असहमत रहेका युवा तथा विद्यार्थीले विभिन्न चरणमा विरोध तथा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । रासस





प्रतिक्रिया दिनुहोस्