फाइल फोटो
नेपालगन्ज, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी, बाँकेद्वारा सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको हो ।’
अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनको छोटो जवाफ थियो–‘संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ ।’
अध्यक्ष ओलीले भने–‘जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो ?’
जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरुले नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै उनले ‘सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई खुसी बनाएको छैन, रुवाएको छ, पीडामा पारेको छ’–भने ।
एक अर्को प्रश्नको जवाफमा अध्यक्ष ओलीले ‘राजनीतिका नाममा मुलुकमा सधैं द्वन्द्व उद्योग सन्चालन गर्नेहरुसँग जनता सावधान हुनुपर्छ’–भने । रासस





प्रतिक्रिया दिनुहोस्