१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


उपत्यकाको तापक्रम एक्कासि वृद्धि, अबको तीन दिन ‘बदली र वर्षा’


0
Shares

सिबी अधिकारी (रासस)

काठमाडौं, असार २३ । काठमाडौं उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण शनिबार काठमाडौंको अधिकतम् तापक्रम ३१.४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम् तापक्रम २०.८ डिग्री सेल्सियस रहेको छ ।

निरन्तरको वर्षा तथा बदलीले अधिकतम् तापक्रम घटेर यही असार १८ गते काठमाडौंको अधिकतम् तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम् तापक्रम २० डिग्री पुगेको थियो ।

असार १७ गते काठमाडौंको अधिकतम् तापक्रम २७ डिग्री थियो भने असार १४ र १५ गते ३० डिग्रीको हाराहारीमा तापक्रम कायम थियो ।

जेठको दोस्रो साता काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

मनसुन पूर्णरूपमा सक्रिय भएसँगै गत असार १७ देखि देशैभर मध्यमदेखि भारी वर्षा भएको थियो ।

‘मनसुन न्यून चापीय रेखा नेपालमा प्रवेश गरेकाले ६ दिनसम्म निरन्तर वर्षा भएको हो । मनसुनयाम खासगरी जुलाई र अगस्ट महिनामा यस्तो मनसुनी गतिविधि हुने, केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम र साँझपख हल्का वर्षा चलिरहने’ मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।

रासससँगको कुराकानीमा अर्यालले भने–‘मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा) प्रवेश गर्दा मनसुन सक्रिय भइ वर्षा हुने तथा मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा मनसुन ब्रेक अर्थात् कम वर्षा र बढी घाम लाग्ने हुन्छ ।’

मौसमविद्को भाषामा यसलाई ‘मनसुन ब्रेक र मनसुन एक्टिभ’ पनि भनिन्छ । यद्यपि, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण वर्षा हुने विविधता ‘रेनफल भेरिविलिटी’मा केही फरकपन आउने गरेको मौसमविद् अर्यालको भनाइ छ ।

गत असार १४ गतेदेखि मनसुन देशैभर फैलिएको महाशाखाले घोषणा गरेको थियो । यस वर्षको मनसुन यही जेठ २५ (जुन ८) बाट नेपालमा प्रवेश गरेको महाशाखाले घोषणा गरेको थियो ।

सामान्य तह नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई मनसुनको अवधि मानिन्छ ।

महाशाखाकाअनुसार अहिले काठमाडौं उपत्यकासहित पूर्व र पश्चिमी भेगमा बदली रहेको छ भने साँझतिर वर्षा हुने सम्भावना छ ।

शनिबार दीपायलको ३७, नेपालगन्जको ३६.९ र धनगढीको ३५.९ डिग्री अधिकतम् तापक्रम पुगेको महाशाखाले जनाएको छ ।

तीन दिन बदली र वर्षा

आगामी तीन दिनसम्म देशैभर बदली तथा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।

शनिबार दिउँसो देशका पूर्वी र पश्चिम क्षेत्रका भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र मध्य क्षेत्रका भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ । साँझ देशभरि नै सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

यस्तै, आइतबार (भोलि) दिउँसो देशभरि नै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने देशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी असार २५ गते सोमबार दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पूर्वी तथा मध्ये क्षेत्रको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोही दिन साँझ पनि देशभरि नै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।