Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ : दाहाल


0
Shares

काठमाडौं, मंसिर २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा लिपिबद्ध भएका जनताका अधिकारलाई संस्थागत हुन नदिन केही राजनीतिक दल लागिपरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सो पार्टीको प्रदेश नम्बर–३ द्वारा सोमबार राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनताका अधिकारलाई संस्थागत हुन नदिन केहि दलले फैलाएको भ्रमलाई चिर्न तथा परिवर्तनका मुद्दा जोगाउनका लागि जनतामा जान नेता–कार्यकर्तालाई आग्रह गरे ।

‘अहिले विभिन्न गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ’–उनले भने–‘संघीयता, गणतन्त्र, समावेशीताजस्ता मुद्दाकाविरुद्ध केही दल र नेता लागेका छन्, हिजो उनीहरुले हृदयदेखि नै परिवर्तन स्वीकारेका थिएनन्, जनयुद्धको राप र तापका कारण बाध्यतावश मानेका थिए ।’

अध्यक्ष दाहालले अहिले माओवादी आन्दोलन केही कमजोर भएको देखेर परिवर्तनका सबै उपलब्धिलाई उल्टाउन खोजिएको बताउँदै ‘जनतामा भ्रम छरेर आफूमात्रै ठीक, आफूले गरेकोमात्रै राम्रो भन्ने मानसिकताका साथ केही मान्छे लागेका छन्’–भने ।

उनले भने–‘परिवर्तनलाई जोगाउन पार्टीका सबै नेता तथा कार्यकर्ता जनतामा जानु आवश्यक छ ।’

हालै सम्पन्न पार्टीको पोलिटब्युरो बैठकले संगठनको गतिरोध चिरेको स्पस्ट पार्दै अध्यक्ष दाहालले भने–‘अब अधिवेशनमार्फत् व्यवस्थित संगठनको जग बसाल्नेतिर हाम्रो ध्यान केन्द्रित गरौं र अभियान बनाएर जनतामा जाऔं ।’

‘सबैको मूल्यांकन अभियान र जनसेवाले गर्छ’–उनले भने–‘यसले जनतामा नयाँ आशा र माओवादी आन्दोलनमा एकताको वातावरण पनि बन्नेछ ।’

अध्यक्ष दाहालले माओवादीबीच फेरि एकताको आधार बन्दै गएको उल्लेख गर्दै ‘माओवादी विभाजित हुँदा प्रतिगामीले टाउको उठाए, अब नयाँ शिराबाट माओवादी आन्दोलन ध्रुवीकरण हुन्छ, त्यसको गृहकार्य भइरहेको छ, तपाइँहरु पनि जनतामा गएर एकता र जनसेवाको वातावरण निर्माण गर्नुहोस्’–भने ।

आगामी वैशाखको पहिलो हप्ताभित्रै स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा सरकार रहेकाले पार्टीलाई विजयी गराउन भरमग्दुर प्रयास गर्न पनि उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

सो अवसरमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले संगठन सुदृढीकरण नै आजको प्रमुख आवश्यकता भएकाले राजधानीकेन्द्रित हुने प्रवृत्ति त्याग्न सबैमा आग्रह गर्दै जनतामा जाने हो भने माओवादीप्रति पुनः उभार आउने भएकाले नीति तथा कार्यक्रम बनाइ प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

अर्का नेता रामबहादुर थापाले माओवादीलाई कमजोर पार्ने नियतका साथ नेकपा एमालेलगायतका दलले अराजक आन्दोलन गरेको भन्दै ‘जनतामा रहेको भ्रम चिर्नु जरुरी रहेको छ’–भने ।

नेताहरु वर्षामान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, हितमान शाक्य, पम्फा भुसाल, लोकेन्द्र विष्टलगायतले माओवादीलाई पुनः एक नम्बरको पार्टी बनाउन सिंगो पार्टीपंक्ति परिचालित हुनुपर्ने धारणा राखे । रासस