काठमाडौं, चैत ८ । पानीको महत्वबारे जागरण बढाउन आज विश्व पानी दिवस मनाइँदैछ । पानी दिवसका अवसरमा विश्वभर नै विभिन्न कार्यक्रम भइरहेका छन् ।
नेपाल सरकारले सन् २०३० सम्ममा सबैमा गुणस्तरयुक्त खानेपानीको पहुँच पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रसंघको आह्वानमा सन् १९९२ देखि बर्सेनि मार्च २२ का दिन पानी दिवस मनाउने गरिएको हो ।
विज्ञहरुले पानीसँग हरेक प्राणीको जीवन जोडिएकाले यसको उपलब्धता र स्रोत संरक्षणमा जोड दिएका छन् । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वमा १ अर्ब ८० करोड मानिसले प्रयोग गर्ने खानेपानीको स्रोत संक्रमित रहेको पाइएको छ । यसबाट हैजा, झाडापखाला, पोलियोसहितका रोगको जोखिम बढेको राष्ट्रसंघले जनाएको छ ।
असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा हरेक वर्ष ८ लाख ४२ हजार मानिसको ज्यान जाने गरेको तथ्यांक छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्यसम्बन्धी हकको सुनिश्चित गरे पनि अहिलेसम्म खानेपानीमा ८७ प्रतिशत र सरसफाइमा ९५ प्रतिशत सफलता प्राप्त भएको सरकारी तथ्यांक छ ।









प्रतिक्रिया दिनुहोस्