धनकुटा, चैत ८ । सेवा सुविधासम्बन्धी माग राखेर प्राविधिकहरु आन्दोलित भएपछि प्रदेश नम्बर १ का पहाडी जिल्लामा निजी आवास पुनर्निर्माणको काम अलपत्र परेको छ ।
फिल्डमा खटिएबापतको अतिरिक्त सुविधा, प्रोत्साहन भत्ता, स्वास्थ्य र दुर्घटना बिमा, भौतिक सुरक्षा तथा स्थानीय तहमा स्थायित्वको माग गर्दै प्राविधिकहरुले काम छाडेपछि धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा पुनर्निर्माणको काम अलपत्र परेको हो ।
गत फागुन १४ गते विज्ञप्ति जारी गर्दै कार्यस्थल छाडेका प्राविधिकहरु फागुन महिनाको तलब बुझ्न २६ गते कार्यालय फर्के पनि फिल्डको काममा गएका छैनन् । प्राविधिकहरु काममा नगएपछि प्राविधिक मूल्यांकन नहुँदा किस्ता पाउनयोग्य भूकम्पपीडितले समेत अनुदान रकम पाउन सकेका छैनन् ।
पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको नियमित तलव र सुविधा स्थानीय तहमार्फत नै दिलाउने व्यवस्था नभएसम्म पुनर्निर्माणको काम प्रभावकारी बन्न नसक्ने स्थानीय तहका पदाधिकारीहरुले बताएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले पुनर्निर्माणमा खटिएका प्राविधिकको नियमन र परिचालन स्थानीय तहलाई नदिए भूकम्पपीडितहरु घरबाहिरै हुने बताए ।
धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुममा करिब १० हजार भूकम्पपीडित लाभग्राहीको सूचीमा छन् ।









प्रतिक्रिया दिनुहोस्