संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने एमालेसहित ८ दलको निर्णय « Image Khabar


संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने एमालेसहित ८ दलको निर्णय


Imagekhabar
२८ मंसिर २०७३, मंगलवार १८:०३

                                                                                      फाइल फोटो
काठमाडौं, मंसिर २८ । संविधान संशोधन विधेयकको विपक्षमा मत राख्ने नेकपा एमालेसहित ८ दलको संयुक्त बैठकले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म संसद नखोल्ने र आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा मंगलबार बसेको ८ दलको बैठककाबारेमा जानकारी दिँदै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म विरोधका कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउने निर्णय भएको बताए ।

उनले सरकारले विधेयक फिर्ता लिएको खन्डमा जुनसुकै सहयोग पनि गर्न तयार रहेकोबारेमा छलफल भएको जानकारी दिए ।

संविधान संशोधनको विधेयकमाथि विपक्षी दलमात्र नभएर सत्तासाझेदार दलका नेताहरुमासमेत असहमति देखिएको हुँदा सो विधेयक फिर्ता लिनुपर्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव गलत भएको र सरकारले सो विधेयक फिर्ता लिनुको विकल्प नभएको बताए ।

सो विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने भन्दै उनले थपे–‘संविधान संशोधन ५ नम्बर क्षेत्रका जनता र सांसदले चाहेका छैनन्, सरकारले नदुखेको कपाल डोरी लगाएर दुखाइरहेको छ ।’

बैठकमा नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल परिवार दल, नेपाः पार्टी, जनमुक्ति लोकतान्त्रिक पार्टी, मधेसी समता पार्टी गरी ८ दलका नेताहरु सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्