
काठमाडौं, मंसिर २९ । रुसले सिरियाको पूर्वी अलेप्पोमा जारी सैन्य कारवाही समाप्त भएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले सिरियाका सरकारी सेनाले पूर्वी अलेप्पोमा आफ्नो नियन्त्रण कायम गरेको भन्दै त्यहाँ सैन्य कारवाही समाप्त भएको बताए ।
राष्ट्रसंघीय सुरक्षा परिषद बैठकमा उनले आईएस लडाकुलाई त्यहाँबाट हट्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
चुर्किनले आईएस लडाकुले यस्तो सहमति निश्चित गरेको र उनीहरुसँगै सर्वसाधरणलाई पनि हट्न सुरक्षित मार्ग दिइने बताए ।
विकसित पछिल्लो घटना क्रमसंगै अलेप्पोमा चार वर्ष यता चलेको भिषण संघर्ष अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यद्यपि, अधिकारवादीहरुले सर्वसाधारण र विपक्षीलाई उधृत गर्दै रुस र सिरियाली सेनाले त्यहाँ नरसंहार मच्चाएको आरोप लगाएका छन् ।
राष्ट्रसंघले नै रुस र सिरियाली सेनाले ८२ जना सर्वसाधारणको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
तर रुसले भने आरोप अस्वीकार गरेको छ । सिरियाली संघर्षमा रुसले सरकारी सेनालाई हवाई आक्रमणबाट सघाइरहेको छ । लामो समयदेखि आईएसले पूर्वी अलेप्पो कब्जा जमाएर बसेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्