Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


उपत्यकाबाहिरका स्थानबाटसमेत सेयर लिलाम प्रक्रियामा आवेदन दिन सकिने


0
Shares

काठमाडौं, चैत ७ । उपत्यकाबाहिरका स्थानहरुबाटसमेत सेयर लिलाम प्रक्रियामा आवेदन दिनसक्ने व्यवस्था हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले बिहीबार विज्ञप्ति जारी गरी सातै प्रदेशका विभिन्न स्थानबाटसमेत आवेदन दिनसक्ने व्यवस्था गर्न मर्चेन्ट बैंकरहरुलाई परिपत्र गरेको जनाएको हो ।

उपत्यकाबाहिर प्रदेश नम्बर–१ का विराटनगर र बिर्तामोड, प्रदेश–२ का वीरगन्ज र जनकपुर, प्रदेश–३ का हेटौंडा र नारायणगढ, गन्डकी प्रदेशका पोखरा र बाग्लुङ, प्रदेश–५ का बुटवल, घोराही र नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा उक्त सेवा विस्तार गर्न बोर्डले परिपत्र गरेको हो ।

उल्लेखित व्यवस्थाबाट धितोपत्रको हकप्रद निष्कासनपश्चात् बिक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिनसक्ने तथा धितोपत्र बजारको क्षेत्र अझ विस्तार भइ देशव्यापी हुने बोर्डको अपेक्षा रहेको छ ।

‘पाँच लाखको कारोबारमामात्रै प्यान’

यसैबीच, धितोपत्र बोर्डले दोस्रो बजारमा धितोपत्र खरिद वा बिक्री गर्दा दिनभरिको कारोबार वा पटक–पटकको कुल कारोबारको नभइ एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गरेमामात्र स्थायी लेखा नम्बर अनिवार्य हुने जनाएको छ ।

स्थायी लेखा नम्बर अनिवार्य सम्बन्धमा धितोपत्र बोडले थप स्पस्ट पार्दै उक्त व्यहोरा जानकारी गराएको हो ।

Skip This