२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कक्षा–११ को परीक्षाफल प्रकाशित, ५१.७१ प्रतिशत उत्तीर्ण


0
Shares

भक्तपुर, मंसिर ३० । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले विहीबार कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

गत जेठमा उच्च माध्यामिक शिक्षा परिषदले सन्चालन गरेको उक्त परीक्षामा ५१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

परीक्षामा दुई लाख ६६ हजार एक सय तीन सहभागी भएकामा एक लाख ३७ हजार ६०५ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्षभन्दा यस वर्ष २ दशमलव ५१ प्रतिशत परीक्षार्थी बढी उत्तीर्ण भएका हुन् ।

परीक्षामा सहभागीमध्ये ३३ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

परीक्षामा एक विषय अनुत्तीर्ण विद्यार्थीका लागि भने बोर्डले आगामी माघ ८ गते परीक्षा लिने निर्णय गरेको छ ।

बोर्डले कक्षा–११ को आंशिक परीक्षाको परीक्षाफल भने गत मंगलबार सार्वजनिक गरेको थियो ।

विगतका वर्षमा कक्षा–११ को नियमित र आंशिकको नतिजा एकैपटक प्रकाशन गर्ने गरे पनि यसपटक भने नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।

कक्षा–१२ उत्तीर्ण भइसकेका तर कक्षा–११ को आंशिक परीक्षा दिएका परीक्षार्थीमध्ये उत्तीर्णले यसै वर्ष स्नातक तह भर्ना हुन पाऊन् भनेर नियमित परीक्षाभन्दा आंशिक परीक्षाको परीक्षाफल एक साताअघि नै सार्वजनिक गरिएको हो । रासस